आरएन पटेल,रौतहट, फागुन ०४ गते।
रौतहटको ईशनाथ नगरपालिकास्थित श्री जनता माध्यमिक विद्यालय औरैयाका प्रधानाध्यापक भीखर प्रसादलाई शिक्षण पेशाबाट अनिवार्य अवकाश प्राप्त गरेको अवसरमा सोमवार एक समारोहबीच सम्मान तथा बिदाई गरिएको छ।

नगर प्रमुख कौशल्या देवीको प्रमुख आतिथ्यतामा विद्यालय प्राङ्गणमा सम्पन्न कार्यक्रममा विद्यालय परिवार, विद्यार्थी तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालयका शिक्षक संजय कुमार यादवका अनुसार करिब २९ वर्ष लामो शिक्षण सेवापछि प्रधानाध्यापक प्रसाद अनिवार्य अवकाशमा जानुभएको हो। उहाँले माध्यमिक तहको गणित शिक्षकको रूपमा सेवा प्रारम्भ गरी अस्थायी र स्थायी दुवै रूपमा उल्लेखनीय योगदान दिनुभएको थियो।

कार्यक्रमको सञ्चालन माध्यमिक तहका सामाजिक शिक्षक राम विश्वास मुखियाले गर्नुभएको थियो भने विज्ञान शिक्षक खुर्शिद आलमले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा ईशनाथ नगरपालिकाका योजना शाखा प्रमुख इशराजुल खान, शिक्षा शाखाका निरंजन सिन्हा, समाजसेवी डा. निरज सिन्हा, प्रमोद कुमार यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबाबु प्रसाद यादव, पूर्व अध्यक्ष रामवचन साह, सदस्यहरू नारायण महतो र चन्दा देवी लगायतको विशेष उपस्थिति रहेको थियो। साथै, मा.वि. डुमरिया, घिउरा, मठिया र बन्जरहाका प्रधानाध्यापकहरू क्रमशः दिपक मेहता, चन्देश्वर यादव, अरविन्द साह र नारायण साहको समेत सहभागिता रहेको थियो।
अवकाश प्राप्त प्रधानाध्यापक प्रसादको योगदानको कदर गर्दै विद्यालय परिवार तथा विद्यार्थीहरूले अबिर, फूलमाला र गम्छा ओढाएर सम्मान गरेका थिए। कार्यक्रममा बोल्ने वक्ताहरूले उहाँको अनुशासन, समर्पण र विद्यालय विकासमा खेलेको भूमिकाको खुलेर प्रशंसा गर्दै आगामी दिनमा पनि उहाँको अनुभव र मार्गदर्शन समाजलाई आवश्यक रहने बताएका थिए।
समारोह भावुक वातावरणबीच सम्पन्न भएको थियो, जहाँ प्रधानाध्यापक प्रसादले आफ्नो सेवाकालको स्मरण गर्दै विद्यालय परिवारप्रति आभार व्यक्त गर्नुभएको थियो।
Sthaniya News
