स्थानीय न्यूज,रौतहट, फागुन ०६ गते।
प्रतिनिधिसभा निर्वाचनको रौतहट क्षेत्र नं. ३ मा राजनीतिक बिरासत र गुण्डाराज्यको अन्त्य हुने निश्चित भइसकेको नेकपाको उम्मेदवार पूनम यादवले अभिव्यक्ति दिएकी छिन। गरुडा नगरपालिका-५ महम्मदपुर र शिवनगरमा घरदैलो कार्यक्रममा सक्रियता बढाउँदै उम्मेदवार यादवले यस्तो बताउनु भएको छ। कार्यक्रममा स्थानीयवासीहरूको भव्य उपस्थिति र आत्मीय स्वागतले माहोल उत्साहपूर्ण बनेको थियो।

घरदैलोका क्रममा उम्मेदवार यादवले घर-घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो प्रतिबद्धता प्रस्तुत गर्नुभयो। स्थानीय समस्या, विकासका प्राथमिकता र युवाको रोजगारीजस्ता विषयमा छलफल गरिएको थियो।
यसैक्रममा उहाँले हिजो गरुडा नगरपालिकाको महम्मदपुरमा भएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउनुभएको छ। रौतहट-३ का उम्मेदवारसमेत रहेका आम जनता पार्टीको अध्यक्ष प्रभु साह ले युवाहरू तथा समग्र मतदातालाई लक्षित गरी प्रयोग गरेको शब्दप्रति गम्भीर ध्यानाकर्षण गराउँदै उहाँले घोर निन्दा व्यक्त गर्नुभयो।
यादवले लगातार चार पटक सांसद भइसकेका नेताले आफ्नो जिम्मेवारीपना महसूस नगरेर राजनीतिक बिरासत बुझेर अभिव्यक्ति दिएको उल्लेख गर्दै युवाहरुमाथि अशब्द प्रयोग गर्नु नैतिकता विपरीत भएको बताउनुभयो। “पटक-पटक निर्वाचित भएर पनि क्षेत्रका लागि ठोस काम गर्न नसक्दा युवाहरूले प्रश्न उठाउनु स्वाभाविक हो,” उहाँले भन्नुभयो, “तर त्यसको जवाफ गाली-गलौजले दिनु गुंडागर्दी प्रवृत्ति बाहेक केही होइन।”
उहाँले अब रौतहट-३ मा “गुंडाराज समाप्त भई जनताको राज आउने” दाबी गर्नुभयो। विगतदेखि विकासका नाममा भ्रम फैलाउँदै शासन गर्ने प्रवृत्तिलाई जनताले चिनेको उल्लेख गर्दै यसपटक टोल-टोलबाट बहिष्कार सुरु भएको उहाँको भनाइ थियो।
“बहिष्कार खेप्न नसकी आत्तिएर जथाभावी अभिव्यक्ति दिनु दुर्भाग्यपूर्ण हो,” यादवले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भन्नुभयो, “अब खोक्रो विकासको नाराबाट जनता ठगिने छैनन्। जनताले बहुरूपी प्रवृत्ति चिन्न थालेका छन्।”

वर्षौँदेखि धाकधम्की, पैसाको प्रलोभन र समाजमा राजनीतिक तथा वैचारिक द्वन्द्व सिर्जना गर्ने प्रवृत्तिविरुद्ध जनता खुला रूपमा उभिन थालेको उहाँले दाबी गर्नुभयो। आगामी निर्वाचनमा परिवर्तनको पक्षमा जनलहर देखिएको उहाँको भनाइ छ।

Sthaniya News
