स्थानीय न्यूज, रौतहट, फागुन ०९ गते।
प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा रौतहट क्षेत्र नं. ३ मा पार्टी परिवर्तनको क्रम तीव्र बनेको छ। फतुवा विजयपुर नगरपालिका-६ का पूर्व वडा अध्यक्ष तथा नेपाली कांग्रेसका नेता हिरालाल यादवले नेपाली कांग्रेस परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा औपचारिक रूपमा प्रवेश गर्नुभएको छ।
पूर्व वडा अध्यक्ष यादवसँगै उहाँको नेतृत्वमा पेटभरवा क्षेत्रका दर्जनौँ स्थानीय नेता तथा कार्यकर्ताहरूले पनि पार्टी प्रवेश गरेका छन। प्रवेश कार्यक्रममा पार्टी नेतृ तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार पुनम यादवले नवप्रवेशीहरूलाई टिका लगाएर विशेष स्वागत गर्नुभएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै पुनम यादवले रौतहट क्षेत्र नं. -३ मा “कुरा होइन, काम गर्ने व्यक्तिको खाँचो रहेको” उल्लेख गर्दै वास्तविक परिवर्तनका लागि एकता अपरिहार्य रहेको बताउनुभयो। उहाँले देश र क्षेत्रको भविष्य सुरक्षित गर्न समयमै सही निर्णय लिन सबै मतदाता र समर्थकलाई आग्रह गर्नुभयो। साथै, यसपटक रौतहट-३ मा परिवर्तनको आधार ‘तारा’ चुनाव चिह्न भएको उल्लेख गर्दै आम नागरिक तथा देवतुल्य मतदातालाई ‘तारा’मा मतदान गर्न अपिल गर्नुभएको छ।
स्थानीय तहमा प्रभाव राख्ने नेताको प्रवेशसँगै रौतहट-३ को राजनीतिक समीकरणमा नयाँ तरंग सिर्जना भएको विश्लेषण गरिएको छ। चुनावी माहोल तातिँदै जाँदा पार्टी प्रवेश र समर्थनको लहरले आगामी निर्वाचनलाई थप रोचक बनाउने देखिएको छ।
Sthaniya News
