Breaking News
रौतहट-२ मा जनमत पार्टीलाई ठूलो झट्का : उम्मेदवार कुशवाहासहित दर्जनौँ अगुवाको सामूहिक राजीनामा

रौतहट-२ मा जनमत पार्टीलाई ठूलो झट्का : उम्मेदवार कुशवाहासहित दर्जनौँ अगुवाको सामूहिक राजीनामा

आरएन पटेल,रौतहट,फागुन १० गते।
प्रतिनिधि सभा निर्वाचन हुन अब मात्र ११ दिन बाँकी रहँदा रौतहट क्षेत्र नं. २ मा राजनीतिक सरगर्मी तीव्र बनेको छ। यसैबीच जनमत पार्टी का तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा रौतहट जेनजी जिल्ला अध्यक्ष ई. सोनु कुशवाहाले पार्टीबाट सामूहिक राजीनामा दिएको घोषणा गरेका छन।

उनीसँगै जेनजी जिल्ला प्रवक्ता जितेन्द्र प्रजापति, जनमत पार्टीका पूर्व प्रतिनिधि सभा उम्मेदवार राम यास झा, पूर्व मेयर प्रत्याशी राम उदय साह तथा इसनाथ नगरपालिका क्षेत्रका दर्जनौँ अगुवाले पार्टी परित्याग गरेका छन। निर्वाचनको ठीक मुखैमा आएको यो निर्णयले रौतहट-२ को चुनावी समीकरणमा नयाँ तरंग पैदा गरेको छ।
आन्तरिक असन्तुष्टि र नेतृत्वप्रति आरोप
राजीनामा दिने नेताहरूले पार्टीभित्र आन्तरिक असन्तुष्टि, नेतृत्वको एकलौटी निर्णय, स्थानीय जनभावनाको उपेक्षा तथा विकासका मुद्दामा स्पष्ट रोडम्याप नदेखिएको आरोप लगाएका छन। उनीहरूको भनाइ अनुसार पार्टीभित्र युवाको आवाजलाई दबाउने प्रवृत्ति बढ्दै गएको थियो।
ई. सोनु कुशवाहाले राजीनामापछि संक्षिप्त प्रतिक्रिया दिँदै भने, “राजनीति पदका लागि होइन, जनताको सेवा र परिवर्तनका लागि हुनुपर्छ। हामी युवा हौँ र परिवर्तनका लागि जनमतबाट उम्मेदवारी दिएका थियौँ, तर युवामाथिको दमन स्वीकार्य भएन। जब पार्टीभित्रै जनताको आवाज सुन्ने वातावरण हुँदैन, तब नयाँ निर्णय लिनु अपरिहार्य हुन्छ।”
चुनावी समीकरणमा प्रभाव
निर्वाचन नजिकिँदै गर्दा प्रभावशाली स्थानीय नेताहरूको सामूहिक बहिर्गमनले जनमत पार्टीलाई क्षेत्र नं. २ मा ठूलो झट्का लागेको विश्लेषण गरिएको छ। इसनाथ नगरपालिका र आसपासका क्षेत्रमा यी नेताहरूको प्रभाव उल्लेखनीय मानिन्छ।
राजनीतिक वृत्तमा अब उनीहरू कुन दल वा गठबन्धनतर्फ उन्मुख हुन्छन भन्ने विषय चासोका साथ हेरिएको छ। यद्यपि, राजीनामा दिने पक्षले हालसम्म कुनै नयाँ दलमा प्रवेशबारे औपचारिक घोषणा गरेका छैनन।
चुनावी मैदान तातिँदै जाँदा रौतहट-२ को परिणाम कस्तो आउने हो भन्ने विषय अझै रोचक बनेको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*