आरएन पटेल,रौतहट, फागुन १६ गते।
जिल्ला प्रशासन कार्यालय गौर रौतहटले यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्लाभर मदिरा बिक्री-वितरणमा पूर्ण निषेध लगाएको छ।
शुक्रवार एक अत्यन्त जरुरी सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले निर्वाचनको एक हप्ता अगावै देखि निर्वाचन सम्पन्न नभएसम्म रौतहट जिल्लाभर सबै प्रकारका मदिराजन्य पदार्थहरूको बिक्री, वितरण तथा सार्वजनिक स्थानमा सेवन पूर्ण रूपमा निषेध गरिएको जानकारी दिएका हुन।
प्रशासनले सूचनाको उल्लंघन गरी मदिरा बिक्री-वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ। सुरक्षा निकायहरूबाट नियमित अनुगमन तथा निगरानी गरिने जनाइएको छ।
निर्वाचनको समयमा सार्वजनिक शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न चालिएको यस कदममा सबै होटल व्यवसायी, राजनीतिक दल, नागरिक समाज तथा आम सर्वसाधारणबाट पूर्ण सहयोगको अपेक्षा गरिएको प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी भुसालले निर्वाचनलाई मर्यादित, शान्तिपूर्ण र विश्वसनीय बनाउन प्रशासन प्रतिबद्ध रहेको उल्लेख गर्दै सबै पक्षलाई आदेशको पालना गर्न आग्रह गरेका छन।

Sthaniya News
