Breaking News
मधेशमा कांग्रेसको जोगियो साख, रौतहट-२ बाट डा. फिरदोस आलम विजयी

मधेशमा कांग्रेसको जोगियो साख, रौतहट-२ बाट डा. फिरदोस आलम विजयी

स्थानीय न्यूज,रौतहट, फागुन २८ गते।
प्रतिनिधि सभा सदस्यको निर्वाचनमा रौतहट निर्वाचन क्षेत्र नम्बर-२ बाट नेपाली कांग्रेसका उम्मेदवार डा. मोहम्मद फिरदोस आलम विजयी भएका छन। उनले निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार किरण कुमार साहलाई ११ हजार ८६ मतको फराकिलो मतअन्तरले पराजित गर्दै जीत हासिल गरेका हुन।
जिल्लामा चार वटा निर्वाचन क्षेत्र रहेको रौतहटमा तीन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् भने क्षेत्र नम्बर-२ बाट डा. आलम विजयी हुँदै मधेश प्रदेशमा नेपाली कांग्रेसको साख जोगाउन सफल भएका छन। देशभर राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभाव बढिरहेको अवस्थामा आलम कांग्रेसबाट निर्वाचित हुनेमध्ये सबैभन्दा ठूलो मतान्तरले जित्ने उम्मेदवार बनेका छन।


निर्वाचन अधिकृत सीताराम खडकाका अनुसार आलमले २९ हजार ५२८ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्द्वी किरण कुमार साहले १८ हजार ४४२ मत पाएका छन। यसअघि २०७९ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका साहसँग आलम ४ हजार ५ सय ९४ मतले पराजित भएका थिए। तर २०८२ को निर्वाचनमा उनले फराकिलो मतान्तरले जित निकाल्न सफल भए।
एमबीबीएस अध्ययन गरेका आलम २०७३ सालमा नेपाल प्रहरीमा प्रहरी निरीक्षक पदमा नियुक्त भएका थिए। २०६४ सालको पहिलो संविधान सभा निर्वाचनको पूर्वसन्ध्यामा भएको बम विस्फोट घटनामा उनका पिता तथा नेपाली कांग्रेसका पूर्वमन्त्री स्वर्गीय मोहम्मद आफताब आलम पक्राउ परेपछि उनले २०७६ सालमा प्रहरी सेवा त्यागेका थिए। त्यसपछि उनी सक्रिय रूपमा राजनीतिमा प्रवेश गरेका थिए।
आलमले पहिलो पटक २०७९ को प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका थिए भने यसपटक दोस्रो प्रयासमा सफल भएका हुन। उनका कान्छा भाइ डा. राजिक आलम हाल राजपुर नगरपालिकाका नगर प्रमुख रहेका छन।
विजयपछि सञ्चारकर्मीसँग कुरा गर्दै आलमले मतदाताले गरेको विश्वासलाई कहिल्यै नबिर्सने बताए। उनले भने, “देशभर आएको राजनीतिक लहरका बीच पनि क्षेत्रका मतदाताले म माथि विश्वास गरेर जिताएका छन। यसका लागि म सधैं ऋणी रहनेछु।”
उनले क्षेत्रको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र बेरोजगारी समस्याको समाधानका लागि संसदमा प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन। साथै आफ्ना पिता स्वर्गीय आफताब आलमले देखेको अधूरो सपना पूरा गर्ने जिम्मेवारी अब आफ्नो काँधमा आएको बताए।
यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका शेख सगीरले ९ हजार ३२५ मत, जनता समाजवादी पार्टीका राम आशीष राय यादवले २ हजार ९६० मत, नेकपा एमालेका मोहम्मद अतिउल्लाहले २ हजार ३८२ मत, आम जनता पार्टीका श्री भगवान राउतले १ हजार ८२५ मत तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका सुरेन्द्र प्रसाद जैसवालले ८५९ मत प्राप्त गरेका छन।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*