स्थानीय न्यूज,रौतहट, फागुन २९ गते ।
यस वर्ष रौतहट जिल्लाका ग्रामीण तथा सहरी क्षेत्रहरूमा रहेका आँपका रूखहरू मोजर (मन्जरी) ले ढकमक्क भरिएका छन । मौसम अनुकूल भएको र समयमै मोजर पलाएका कारण यसपालि आँप उत्पादन विगतका वर्षहरूको तुलनामा उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ ।
कृषि ज्ञान केन्द्र रौतहटका अनुसार यस वर्ष हिउँद र बसन्तको मौसम आँपका लागि अनुकूल रहेकाले बोटमा प्रशस्त मोजर लागेको छ । पर्याप्त मोजर पलाएसँगै किसानहरू पनि यस वर्ष राम्रो उत्पादन हुने आशामा उत्साहित भएका छन।
जिल्लाका निजी बगैँचा मात्र होइन, विभिन्न सरकारी कार्यालय परिसरमा रहेका आँपका रूखहरू समेत यतिबेला मोजरले ढकमक्क भई वातावरण मनमोहक भएका छन । गरुडा बजारस्थित इलाका प्रहरी कार्यालयको परिसरमा रहेका ठूला आँपका रूखहरू पनि अहिले मोजरले पहेँलपुर देखिएका छन। मोजरको सुगन्धले कार्यालय परिसरको वातावरण नै मनमोहक बनेको स्थानीयले बताएका छन।
कृषि ज्ञान केन्द्रका प्राविधिकहरूका अनुसार अबको केही हप्ता मौसम अनुकूल रह्यो भने मोजरबाट राम्रो फल लाग्ने सम्भावना उच्च छ । तर अत्यधिक वर्षा, असिना वा रोग-किराको आक्रमण भएमा उत्पादनमा असर पर्न सक्ने भएकाले किसानलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
रौतहटमा आँप खेती धेरै हुने जिल्लामध्ये एक भएकाले यस वर्ष उत्पादन बढेमा किसानको आम्दानीमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

Sthaniya News
