स्थानीय न्यूज,रौतहट,फागुन २९ गते।
रौतहटको फतुवा विजयपुर नगरपालिका-५ सन्तपुरमा होलीको पूर्वसन्ध्यामा भएको दुई समुदायबीचको विवादलाई लिएर स्थानीय स्तरमा आरोप-प्रत्यारोप सुरु भएको छ। सामान्य विवादलाई केही राजनीतिक व्यक्तिहरूले बढावा दिएको आरोप स्थानीयहरूले लगाएका छन भने समुदायका प्रतिनिधिहरूले घटनालाई सामुदायिक रूपमा समाधान गर्न आग्रह गरेका छन।
स्थानीयका अनुसार गत फागुन १९ गते होलीको पूर्वसन्ध्यामा सन्तपुरमा दलित समुदाय र यादव समुदायका केही युवाहरू एकै ठाउँमा बसेर भोजभतेर तथा मासु-मदिरा सेवन गरिरहेको क्रममा सामान्य विवाद उत्पन्न भएको थियो। उक्त विवाद बढ्दै जाँदा दुई पक्षबीच तनाव तथा झडप भएको बताइएको छ।
स्थिति नियन्त्रणमा ल्याउने क्रममा स्थानीय भुवनेश्वर राय यादवले विवाद शान्त पार्ने प्रयास गर्दा दलित समुदायका केही युवाहरूले रडले प्रहार गर्दा उनको टाउकोमा चोट लागेको प्रत्यक्षदर्शी सिकिन्द्र राय यादवले बताएका छन।

स्थानीय समाजसेवी यादवका अनुसार समुदाय स्तरमै मिलाउन सकिने उक्त घटनालाई पछि अनावश्यक रूपमा ठूलो बनाइएको आरोप लगाइएको छ। उनले स्थानीय नेताहरुले व्यक्तिगत स्वार्थका कारण केही व्यक्तिलाई उक्साएर प्रहरी प्रशासनमाथि दबाब दिँदै ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गराएको आरोप लगाएका छन।
उता घटनामा घाइते भएका भुवनेश्वर राय यादवले आफूले सामूहिक विवाद समाधान गर्न खोज्दा उल्टै आक्रमणको शिकार भएको र राजनीतिक षड्यन्त्रका कारण मुद्दा खेप्न बाध्य भएको बताएका छन।

दलित समुदायका पीडित बिर्जा राम चमारको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटको निर्देशनपछि इलाका प्रहरी कार्यालय विजयपुरमा बुधबार आठ जनाविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार दलित परिवारमाथि सामूहिक आक्रमण गरेको आरोपमा पसिन्द्र यादवलाई पक्राउ गरिएको छ। घटनामा संलग्न रहेको आरोप लागेका भुनेश्वर यादव, नितेश यादव, जगु यादव (नगेन्द्र यादव), सुखारी यादव, गिरधारी यादव, नबिन कुमार यादव र जयप्रकाश यादव भने फरार रहेका छन। पक्राउ परेका पसिन्द्र यादवलाई हाल इलाका प्रहरी कार्यालय विजयपुरको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
यता घटनामा गम्भीर घाइते भएका भुवनेश्वर यादवलाई प्रहरी प्रशासनको सल्लाहमा थप उपचारका लागि वीरगञ्ज पठाइएको थियो तथा त्यसै बिच राजनीतिक दबाबका कारण घाइते यादव समेत आठ जना माथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको घाइते भुवनेश्वर यादवको भनाइ रहेको छ ।
यसैबीच स्थानीय दलित समुदायका प्रतिनिधि सुब्बा महरा र जुगलाल रामले दुवै समुदायबीचको सानो विवादलाई ठूलो नबनाई समुदायस्तरमै समाधान खोज्न आफूहरू तयार रहेको बताएका छन। सन्तपुरमा विभिन्न समुदायका मानिसहरू लामो समयदेखि सँगै बसोबास गर्दै आएको उल्लेख गर्दै स्थानीयहरूले आपसी समझदारीबाट विवाद समाधान गर्नुपर्ने धारणा व्यक्त गरेका छन।
स्थानीयवासीका अनुसार सानो झगडालाई साम्प्रदायिक रंग नदिई शान्तिपूर्ण रूपमा समाधान गर्न सबै पक्षले पहल गर्नुपर्ने आवश्यकता रहेको छ।
Sthaniya News
