काठमाडौं, फागुन २९ गते ।
नेपाल आयल निगम लिमिटेड ले काठमाडौं उपत्यकामा एल.पि. ग्यासको माग अस्वाभाविक रूपमा बढेपछि ग्यास वितरण व्यवस्थापन गर्न नयाँ निर्णय गरेको छ।
निगमका अनुसार नियमित रूपमा मागअनुसार एल.पि. ग्यास आयात तथा वितरण भइरहे पनि विगत दुई–तीन महिनादेखि काठमाडौं उपत्यकामा ग्यासको माग अत्यधिक बढेको देखिएको छ। यसैबीच मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण विश्वभर पेट्रोलियम पदार्थ तथा एल.पि. ग्यासको आपूर्तिमा प्रभाव परेको निगमले जनाएको छ।
नेपाललाई एल.पि. ग्यास आपूर्ति गर्ने भारतमै सर्वसाधारण उपभोक्ताले ग्यास प्राप्त गर्न समस्या भोगिरहेको समाचार सार्वजनिक भएपछि नेपालमा पनि आवश्यकताभन्दा बढी ग्यास खरिद गरेर भण्डारण गर्ने प्रवृत्ति बढेको निगमको भनाइ छ।
यस्तो अवस्थालाई ध्यानमा राख्दै ग्यास आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन निगमले मिति २०८२ फागुन २९ गतेदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्मका लागि आधा भराइ सिलिण्डर बिक्री गर्ने निर्णय गरेको हो।
निगमका प्रवक्ताका अनुसार अब प्रत्येक ग्यास सिलिण्डरमा ७.१ केजी एल.पि. ग्यास मात्र भरेर प्रति सिलिण्डर ९५५ रुपैयाँमा बिक्री वितरण गरिने छ। यस कदमले ग्यासको उपलब्धता सबै उपभोक्तासम्म समान रूपमा पुर्याउन सहयोग पुग्ने विश्वास निगमले लिएको छ।
निगमले आम उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न तथा अनावश्यक रूपमा भण्डारण नगर्न आग्रह गरेको छ। साथै परिस्थिति सामान्य भएपछि ग्यास वितरण प्रणाली पुनः पुरानै अवस्थामा फर्काइने जनाएको छ।

Sthaniya News
