Breaking News
मधेशी दलको मोर्चा : “बालेन शाहलाई प्रधानमन्त्रीका रूपमा देख्न पाउनु हर्षको विषय”

मधेशी दलको मोर्चा : “बालेन शाहलाई प्रधानमन्त्रीका रूपमा देख्न पाउनु हर्षको विषय”

काठमाडौं,फागुन ३० गते।
संघीय लोकतान्त्रिक मोर्चाले काठमाडौं महानगरपालिकाका पूर्व नगर प्रमुख बालेन्द्र शाह बालेनलाई प्रधानमन्त्रीका रूपमा देख्न पाउनु हर्षको विषय भएको जनाएको छ। मोर्चाले आम जनसमुदायको धारणा अनुसार बालेन शाहको नेतृत्वमा सरकार गठन गर्न सर्वसाधारणबाट व्यापक माग उठिरहेको पनि उल्लेख गरेको छ।
शुक्रवार संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय मूल समितिको बैठक जसपा नेपालको संरक्षक महन्थ ठाकुरको अध्यक्षतामा बसेको थियो। बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को परिणामलाई उल्लेख गर्दै मधेशी, थारु तथा उत्पीडित समुदायले लामो समयदेखि देशको कार्यकारी प्रमुख बन्ने सपना देखेको भन्दै उक्त संघर्षको प्रतिफलस्वरूप बालेन शाहको नेतृत्वलाई जनताले समर्थन गरेको बताएको छ।
बैठकले जारी गरेको निर्णयमा भनिएको छ – मधेशी, थारु, आदिवासी जनजाति लगायत उत्पीडित समुदायका लागि बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा हेर्न पाउनु हर्षको विषय भएको छ। साथै नेपाली जनताले लामो समयको संघर्ष र बलिदानबाट स्थापित गणतन्त्र, संघीयता, लोकतन्त्र र समावेशीता लगायतका उपलब्धिलाई संस्थागत गर्दै संविधान संशोधन, प्रदेश सीमाङ्कन हेरफेर, जनसंख्याको आधारमा प्रतिनिधित्व, लाल आयोगको प्रतिवेदन सार्वजनिक तथा संघीयतालाई अझ सुदृढ बनाउने जस्ता मुद्दाहरू सम्बोधन हुने विश्वास पनि मोर्चाले व्यक्त गरेको छ।
त्यसैगरी बैठकले संघीय लोकतान्त्रिक मोर्चाका अग्रज नेता तथा जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुर राष्ट्रियसभाको सदस्यमा निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिने निर्णय गरेको छ।
उक्त निर्णयबारे जानकारी दिँदै जसपा नेपालका संरक्षक महन्थ ठाकुरले प्रेस विज्ञप्ति जारी गरेका हुन।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*