आरएन पटेल
रौतहट,चैत ०३ गते।
देवाही गोनाही नगरपालिकाले सार्वजनिक जग्गामा अनाधिकृत रूपमा निर्माण गरिएका घर तथा टहरा हटाउन सम्बन्धी महत्वपूर्ण सूचना जारी गरेको छ। नगर कार्यपालिकाको फागुन २८ गतेको निर्णयअनुसार उक्त कदम चालिएको हो।
नगरपालिकाले जानकारी गराएअनुसार प्रशासकीय भवन अगाडि रहेको पोखरी क्षेत्रको पूर्वपट्टिबाट ईलाका प्रहरी कार्यालय प्रेमपुर गोनाहीको नवनिर्मित भवन निर्माण कार्य तथा दक्षिणतर्फबाट बजार व्यवस्थापन गर्ने योजना अघि बढाइएको छ। सोही योजनालाई कार्यान्वयन गर्न पोखरीको पूर्व, पश्चिम, उत्तर र दक्षिणतर्फ रहेका सार्वजनिक जग्गामा बनेका अनाधिकृत संरचना हटाउन आवश्यक देखिएको हो।
यस सन्दर्भमा नगरपालिकाले चैत ३ गते मंगलवार सूचना प्रकाशित गरेको छ साथै सूचना प्रकाशित भएको मितिबाट ७ दिनभित्र सम्बन्धित व्यक्तिहरूलाई आ-आफ्ना घर/टहरा स्वेच्छिक रूपमा खाली गर्न आग्रह गरेको छ।
सूचनामा तोकिएको समयसीमाभित्र अटेर गरेमा नगरपालिकाले प्रहरी प्रशासनको सहयोगमा जे.सी.बी. प्रयोग गरी संरचना हटाउने स्पष्ट उल्लेख गरिएको छ। साथै, संरचना हटाउने क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिबाट नै असुल गरिने चेतावनी पनि दिइएको छ।
पालिकाको नि. प्रमुख प्रशासकीय अधिकृत राजदेव रामद्वारा हस्ताक्षरित सूचना कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय गौर, सशस्त्र प्रहरी बलको बेस क्याम्प देवाही तथा अन्य सम्बन्धित निकायहरूलाई जानकारी गराइएको छ।
नगर प्रमुख प्रेमलाल साह कानु र उप-प्रमुख परनिया देवी को सचिवालयमार्फत पनि यस विषयमा आवश्यक समन्वय गरिने जनाइएको छ।
नगरपालिकाले सार्वजनिक हित, सुरक्षा र व्यवस्थित बजार विकासका लागि सबै सरोकारवालासँग सहयोगको अपेक्षा गरेको छ।

Sthaniya News
