Breaking News
भोलि र पर्सि देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र तीव्र हावाहुरीको चेतावनी

भोलि र पर्सि देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र तीव्र हावाहुरीको चेतावनी

स्थानियन्यूज,काठमाडौं, चैत ०५ गते।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि चैत ६ गते शुक्रबार र पर्सि चैत ७ गते शनिबार देशका विभिन्न भागमा भारी वर्षा, हिमपात तथा तीव्र हावाहुरीको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभाग द्वारा जारी तीन दिने मौसम पूर्वानुमानअनुसार शुक्रबार दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश का पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा र हिमपात हुने सम्भावना रहेको छ।
त्यसैगरी, शुक्रबारदेखि दाङ र नेपालगञ्ज आसपासका लुम्बिनी प्रदेश का तराई जिल्लाहरूमा तथा शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका क्षेत्रमा तीव्र हावाहुरी चल्ने पूर्वानुमान गरिएको छ। हावाहुरीको गति झण्डै ११९ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने जनाइएको छ।
प्राधिकरणका अनुसार प्रि-मनसुनको समय भएकाले हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना तथा घरका छाना उड्ने, विद्युत तथा सञ्चार सेवा अवरुद्ध हुने जस्ता जोखिमहरू बढ्ने सम्भावना छ। पछिल्ला दिनहरूमा हावाहुरीका कारण मानवीय क्षति समेत भएको उल्लेख गरिएको छ।
सतर्कता अपनाउन आग्रह
प्राधिकरणले नागरिकलाई अत्यावश्यक काम बाहेक यात्रा नगर्न, हावाहुरीका बेला घरभित्र सुरक्षित रहन, झ्यालढोका राम्रोसँग बन्द गर्न तथा आगलागी हुन सक्ने स्रोतहरू बन्द गर्न अनुरोध गरेको छ।
यस्तै, सवारीसाधन चलाइरहेका बेला हावाहुरी आए सुरक्षित स्थानमा रोकिन, भीडभाडमा नआत्तिन र व्यवस्थित रूपमा सुरक्षित स्थानतर्फ जान सुझाव दिइएको छ।
हावाहुरीका समयमा अग्ला रुख, कमजोर संरचना, टेलिफोन तथा बिजुलीका खम्बा र तारमुनि नबस्न, लत्रिएका विद्युत तार नछुन तथा विद्युतीय उपकरण प्रयोग नगर्न समेत आग्रह गरिएको छ।
प्राधिकरणले मौसम सम्बन्धी अद्यावधिक जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग तथा आफ्ना आधिकारिक सूचनाहरू नियमित रूपमा अवलोकन गरी आवश्यक सतर्कता अपनाउन सबैमा अपिल गरेको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*