स्थानियन्यूज,रौतहट, चैत ०५ गते ।
जिल्ला प्रहरी कार्यालय रौतहटले भन्सार छलि गरी अवैध रूपमा नेपाल भित्र्याइएका सामानहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएको जनाएको छ।
प्रहरीका अनुसार मिति २०८२ चैत ४ गते बिहान करिब ८:१० बजेको समयमा प्रहरी चौकी बंकुलबाट खटिएको गस्ती टोलीले बौधीमाई नगरपालिका-७, बंकुल क्षेत्रबाट एक जनालाई अवैध सामानसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत, बिहार राज्य मोतिहारी जिल्ला ग्राम पंचायत बिजबनियाका २५ वर्षीय अर्जुन कुमार यादव रहेका छन्।
उनले ना.६ प.८०२१ नम्बरको मोटरसाइकलमा ७ बोरा मिठ्ठा (गुड) लोड गरी भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। बरामद मोटरसाइकल, मिठ्ठा (गुड) तथा व्यक्तिसहित करिब रु. १ लाख १२ हजार ४ सय बराबरको सामान रहेको प्रहरीले जनाएको छ।
त्यसैगरी, विभिन्न मिति र समयमा जिल्लाका विभिन्न स्थानबाट प्रहरी चेकिङ टोलीले कागजपत्र नभएका थप ७ वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ, जसको अनुमानित मूल्य रु. ११ लाख ७५ हजार रहेको छ।
यसरी बरामद सबै सामान तथा साधनसहित कुल रु. १२ लाख ८७ हजार ४ सय बराबरको अवैध सामग्री आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता बिष्णु प्रदीप बस्यालले प्रेस विज्ञप्ति जारी गर्दै अवैध भन्सार छलि नियन्त्रणका लागि प्रहरी सक्रिय रूपमा परिचालित रहेको र यस्ता गतिविधिविरुद्ध कारवाहीलाई अझ कडाइ गरिने बताएका छन।

Sthaniya News
