स्थानियन्यूज,रौतहट, चैत ०५ गते।
करदाता सेवामा सहजता ल्याउने उद्देश्यसहित गरुडा नगरपालिकाबाटै सेवा प्रवाह गर्ने कार्य औपचारिक रूपमा सुरु गरिएको छ। बिहीबार गरुडा नगरपालिकाको सभा हलमा आयोजित एक कार्यक्रमबीच उक्त सेवा शुभारम्भ गरिएको हो।
गरुडा नगरपालिका, राजस्व कार्यालय सिमरा (बारा) तथा करदाता सेवा कार्यालय चन्द्रपुर (रौतहट) को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा अबदेखि साविक करदाता सेवा कार्यालयबाट प्रदान हुँदै आएका सेवाहरू गरुडा नगरपालिकामै उपलब्ध हुने जानकारी गराइएको छ।

कार्यक्रममा बोल्दै नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले यस कदमले स्थानीय नागरिकहरूलाई छिटो, सहज र प्रभावकारी सेवा प्राप्त गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले सेवाग्राहीहरूको समय, खर्च र श्रम बचत गर्दै सेवा प्रवाहलाई अझ नजिक र व्यवस्थित बनाउनेतर्फ नगरपालिका प्रतिबद्ध रहेको बताएका छन।
नगर प्रमुख जयसवालले यस महत्वपूर्ण पहल सफल बनाउन सहयोग गर्ने सबै निकाय तथा व्यक्तिहरूप्रति आभार व्यक्त गर्दै नगरबासीलाई उपलब्ध सेवाको अधिकतम उपयोग गर्न अनुरोध गरेका छन।

स्थानीय तहबाटै करसम्बन्धी सेवा उपलब्ध हुन थालेपछि अब सेवाग्राहीहरूले टाढा जानुपर्ने बाध्यता हट्नेछ भने सेवा प्रणाली अझ प्रभावकारी र नागरिकमैत्री बन्ने अपेक्षा गरिएको छ।
Sthaniya News
