Breaking News
इनर्वास्थित आधारभूत विद्यालयको पुरानो भवन डाक बढाबढमार्फत बिक्री सम्पन्न

इनर्वास्थित आधारभूत विद्यालयको पुरानो भवन डाक बढाबढमार्फत बिक्री सम्पन्न

आरएन पटेल,रौतहट, चैत ०९ गते।
रौतहटको बौधीमाई नगरपालिका वडा नं. २ इनर्वामा रहेको श्री आधारभूत विद्यालय इनर्वा ‘क’ को टिनाछाना भएको पुरानो भवन खुल्ला डाक बढाबढ प्रक्रियामार्फत बिक्री गरिएको छ।
विद्यालयको दक्षिण-पूर्व भागमा अवस्थित उक्त जीर्ण भवन हटाउने निर्णयसँगै सोमबार विद्यालय परिसरमा आयोजित बैठकले खुल्ला प्रतिस्पर्धात्मक डाक बढाबढबाट बिक्री प्रक्रिया सम्पन्न गरेको हो।


विद्यालयले पूर्वसूचना जारी गरेपछि स्थानीय जनप्रतिनिधि, अभिभावक तथा सर्वसाधारणहरूको उपस्थितिमा डाक प्रक्रिया सञ्चालन गरिएको थियो। प्राविधिक मूल्यांकनअनुसार भवनमा प्रयोग भएका सामग्रीसहित कुल मूल्य रु १ लाख ४५ हजार ५०० निर्धारण गरिएको थियो।
डाक बढाबढको क्रममा ठेकेदार राम ध्यान प्रसाद पटेलले रु १ लाख ५० हजार, अन्होती राउत कुर्मीले रु १ लाख ५४ हजार ५०० प्रस्ताव गरेका थिए भने अन्ततः स्थानीय संजय राउत कुर्मीले सबैभन्दा बढी रु १ लाख ५६ हजार ५०० कबोल गरी भवन खरिद गरेका छन।


विद्यालयका प्रधानाध्यापक रमेश कुमार यादवका अनुसार नियमानुसार विजेता पक्षले कबोल रकमको ५ प्रतिशतभन्दा बढी रकम अर्थात रु १० हजार ५०० विद्यालयको खातामा जम्मा गरी डाक प्रक्रिया पूरा गरिसकेका छन्। साथै बाँकी रकम ७ दिनभित्र बुझाई भवन खाली गर्न निर्देशन दिइएको छ।
संघीय अनुदानबाट निर्माण हुन लागेको दुई कोठे नयाँ भवनका लागि पुरानो संरचना हटाउन आवश्यक भएकाले बिक्री प्रक्रिया अगाडि बढाइएको वडा अध्यक्ष धर्मेन्द्र प्रसाद पटेलले जानकारी दिए।


यस कदमसँगै विद्यालयमा नयाँ पूर्वाधार निर्माणको बाटो खुलेको र शैक्षिक वातावरण थप सुदृढ हुने अपेक्षा गरिएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*