आरएन पटेल, रौतहट, चैत ०९ गते।
जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) रौतहट निर्वाचन क्षेत्र नं. ३ को समीक्षा बैठक सम्पन्न भएको छ।
क्षेत्र नं. ३ को जनपरिचालन समितिका संयोजक रामप्रवेश दास तात्मा को अध्यक्षतामा तथा सोही क्षेत्रका उम्मेदवार गोविन्द चौधरी को प्रमुख आतिथ्यमा बैठक आयोजना गरिएको हो। बैठकले हालै सम्पन्न निर्वाचनको नतिजाबारे विस्तृत समीक्षा गरेको जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्रीसमेत रहेका चौधरीले विगतका हार-जीतलाई आत्मसात गर्दै निराश नहुने र अझ सशक्त रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। उनले क्षेत्रमा एकजुट भएर थप सुधारसहित संगठन विस्तार गर्नुपर्नेमा जोड दिँदै इमानदार र प्रतिबद्ध कार्यकर्ताको बलियो टोली निर्माण अपरिहार्य रहेको बताए।
उनले निर्वाचन प्रक्रियामा सहयोग पुर्याउने पार्टीका नेता-कार्यकर्ता, शुभेच्छुक तथा आम मतदाताप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा संगठन सुदृढीकरण र पार्टी गतिविधिलाई अझ प्रभावकारी ढंगले अघि बढाउन सबैलाई सक्रिय हुन आग्रह गरे।
बैठकलाई आगामी रणनीति तय गर्दै संगठनलाई थप चलायमान बनाउने अवसरका रूपमा लिइएको सहभागीहरूले बताएका छन।
Sthaniya News
