आज १४ फेब्रुअरी,
आज फेब्रुअरीमा १४ । प्रत्येक वर्ष १४ फेब्रुअरीमा विश्वभर नै भ्यालेन्टाइन डे दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन डे विश्वभर पर्वकै रूपमा स्थापित भइसकेको छ । विशेष गरी युवायुवतीले उत्साहका साथ नेपालमा पनि भ्यालेन्टाइन डे मनाउने गरेका छन् ।
प्रेमिल मनहरूका लागि आजको दिन निकै महत्त्वपूर्ण मानिन्छ । पश्चिमी संस्कृतिमा आधारित भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस युवापुस्ताहरू माझ लोकप्रिय छ । रोमबाट सुरु भएर पश्चिमी देशहरू फैलिएको प्रणय दिवस मनाउने चलन अहिले नेपालमा पनि बढ्दै गइरहेको छ । प्रेमी र प्रेमिकालाई एक आपसमा प्रेम प्रस्ताव राख्दै “विल यु बी माई भ्यालेन्टाइन ?” भन्न धेरै जना १४ फेब्रुअरी अर्थात् आजको दिनलाई नै पर्खिइरहेका हुन्छन् ।
यो पर्वलाई नयाँ प्रेमिल जोडीको खोजी र प्रस्ताव राख्ने मात्र नभई विवाहित जोडीहरूले पनि प्रेम सम्बन्ध अझै प्रगाढ बनाउने दिनका रूपमा मनाउन थालेको पाइन्छ । खास गरी नव विवाहित वर वधूले प्रणय दिवस विशेष रूपमा मनाउँछन् ।
विभिन्न सामाजिक सञ्जाल लगायत अत्याधुनिक प्रविधिका कारण भ्यालेन्टाइन डे मनाउने क्रमले एक दशकयता नेपालमा पनि प्राथमिकता पाएको छ । नजिकै भए भेटेर रातो गुलाफ र विभिन्न उपहार दिएर शुभकामना आदानप्रदान गर्ने । टाढा भए इमेल र च्याट, मोबाइलबाट एसएमएस गरी पनि भ्यालेन्टाइन डेको शुभकामना दिने क्रम नेपालमा पनि बढ्दो छ ।
भ्यालेन्टाइन डेको सुरुवात इ.सं. २६९ मा रोमबाट सुरु भएको हो । नारीसँगको सम्बन्धका कारण सैनिक कमजोर हुने आभास गरेपछि सम्राटले प्रेम र विवाहमा रोक लगाएका थिए । तर रोममा भ्यालेन्टाइन नाम गरेका एक पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरेपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्ड दिएका थिए ।
झुन्ड्याइनु केही दिनअघि ‘लब फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेम पत्र पादरीले आफ्नी प्रेमिकालाई दिएका थिए । भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा सोही दिनलाई भ्यालेन्टाइन डेका रूपमा मनाउन थालिएको हो ।
प्रेम सम्बन्ध बलियो बनाउन केही उपायहरू
इमानदारी र विश्वास : सम्बन्धमा पारदर्शिता आवश्यक छ । विश्वास नै स्वस्थ सम्बन्धको जग हो ।
एक अर्कालाई समय दिनुहोस् : व्यस्त दिनचर्या भए पनि आफ्नो पार्टनरलाई समय दिनुहोस् ।
खुला संवाद : खुलेर भावना व्यक्त गर्नुहोस्, समस्या भए समाधानको उपाय खोज्नुहोस् ।
साना तर अर्थपूर्ण उपहारहरू : महँगो भन्दा पनि प्रेम देखाउने साना प्रयासहरू महत्त्वपूर्ण हुन्छन् ।
एक अर्काको सम्मान गर्नुहोस् : सम्बन्धमा आदर र सहानुभूति जरुरी छ ।
साथै, सम्झनुहोस् : प्रेम एक दिनको उत्सव मात्र होइन, हरेक दिन माया र समझदारी आवश्यक हुन्छ ।