रौतहट,जेठ २१ रौतहट।
रौतहटको वृन्दावन नगरपालिका वडा नं.-७ धमौरा स्थित रहेको श्री रुपा नेपाली पाल माध्यमिक विद्यालय सखुअवा धमौरामा विद्याकी देवी सरस्वतीको मन्दिरको शिलान्यास गरिएको छ। बिद्यालयको प्राङ्गणमा नगर प्रमुख विनोद प्रसाद कुर्मीको नगर स्तरीय बजेटबाट निर्माण हुन लागेको मन्दिरको शिलान्यास नगर प्रमुख कुर्मीले बुधबार सम्पन्न गरेका हुन।


शिलान्यास कार्यक्रममा बोल्दै,नगरप्रमुख कुर्मीले आफू बाल्यकाल मा सोही बिधालयमा अध्यनरत रहेको बेलादेखि अहिलेसम्म पनि विधार्थीको आस्थाको केन्द्र मानिने सरस्वती माताको मन्दिर न रहेकोले आफू विद्यालयमा बिद्याकी खानी सरस्वतीको मन्दिर शिलान्यास गर्न पाउँदा खुशी लागेको बताउनु भयो । उहाँले शिक्षा भन्दा ठुलो कुरा संसारमा अरु केही नभएको बताउँदै कुनै पनि देशको सफलतामा शिक्षाको सबैभन्दा ठुलो भुमिका हुने गरेकोले आफू शिक्षामा जोड दिएको बताउनु भयो ।

नगर प्रमुख कुर्मीले शिलान्यास पश्चात् पत्रकार संग कुराकानी गर्दै सरस्वती मन्दिरको लागि आफ्नो नगर स्तरीय योजना बाट ५ लाख रकम दिएर शिलान्यास सम्पन्न गरेको र सोही बिधालयमा सम्पुरक बजेट अन्तरगत केन्द्रबाट स्वीकृत भई आएको १ करोड २३ लाख रकम बाट अधुरो भवनको निर्माण कार्य हुन गइरहेको साथै सोही बिधालयमा शौचालयमा निर्माणको लागि २० लाख रकम दिएकोले सुबिधा सम्पन्न शौचालय निर्माण हुन गइरहेको बताए।
विगत लामो समयदेखि विद्यालयमा सरस्वतीको मन्दिर राख्ने अधुरो सपनालाई साकार पार्नको लागि विद्यालयका शिक्षक, विधालय व्यवस्थापन समिति पूर्व विद्यार्थी तथा वर्तमान विधार्थी र अभिभावकहरुको अपेक्षा रहेको कुराको मध्यनजर गर्दै सरस्वती मन्दिरको शिलान्यास गरिएको बिद्यालयका प्रधानाध्यापक धर्मेन्द्र सिंहले जानकारी दिनुभयो ।
शिलान्यास कार्यक्रममा उपप्रमुख संगिता कुमारी राम,सोही वडाका वडा अध्यक्ष जगरनाथ प्रसाद भेडियर,वडा नं.-३ का वडा अध्यक्ष हरिनरायण साह,वडा नं.५का वडा अध्यक्ष फेकु दास,वडा नं.८ का वडा अध्यक्ष रवीन्द्र प्रसाद साह,वडा नं.९ का वडा अध्यक्ष प्रवेज आलम,कार्यपालिका सदस्य राजेश पासवान,नगरपालिका का प्रमुख प्रसासकिय अधिकृत खिम बहादुर भुजेल र शिक्षा संयोजक उपेन्द्र महतो लगायत विधालयका शिक्षक एवम् स्थानीय हरुको समेत उपस्थिति रहेको थियोे।
Sthaniya News
