Breaking News
भारत सरकारले नेपाललाई ४० एम्बुलेन्स उपहारस्वरूप प्रदान गर्‍यो

भारत सरकारले नेपाललाई ४० एम्बुलेन्स उपहारस्वरूप प्रदान गर्‍यो

कामरेन्द्र वर्मा,काठमाडौं,०१ गते असार ।
नेपालका विभिन्न जिल्लामा स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले भारत सरकारले नेपाललाई ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरेको छ । एकैदिन काठमाडौं, वीरगंज, पोखरा र धरानमा आयोजित कार्यक्रममार्फत भारतले यी एम्बुलेन्सहरु नेपाल सरकार तथा विभिन्न स्वास्थ्य संस्थाहरुलाई हस्तान्तरण गरेको हो ।

काठमाडौंस्थित भारतीय राजदूतावास, वीरगंजको महावाणिज्य दूतावास तथा पोखरा र धरानस्थित पेन्सन भुक्तानी कार्यालयहरुमा एकसाथ आयोजना गरिएका समारोहहरुमा नेपालका सातवटै प्रदेशका ३३ जिल्लालाई समेटिएको थियो ।
काठमाडौंमा मात्र २२ वटा एम्बुलेन्स हस्तान्तरण गरिएका थिए भने वीरगंजमा ७, पोखरामा ७ र धरानमा ४ वटा एम्बुलेन्स प्रदान गरिएको हो ।

काठमाडौंमा आयोजित कार्यक्रममा भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले एम्बुलेन्सका चाबी सम्बन्धित प्रतिनिधिहरुलाई हस्तान्तरण गर्दै स्वास्थ्य पूर्वाधार सुदृढीकरणमा भारत सरकारको दीर्घकालीन सहयोगबारे प्रकाश पार्नुभयो । वहाँले नेपाल–भारत विकास साझेदारी अन्तर्गत गरिएको यो सहयोग दुवै देशबीचको मित्रवत सम्बन्धको बलियो प्रमाण भएको बताउनुभयो ।

कार्यक्रममा सहभागी भएका नगरपालिका तथा गाउँपालिकाका प्रमुख, राजनीतिक प्रतिनिधि, समाजसेवी र लाभार्थी संस्थाका प्रतिनिधिहरुले भारत सरकारप्रति आभार व्यक्त गर्दै, प्राप्त एम्बुलेन्सहरुले ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवामा पहुँच बढाउने विश्वास व्यक्त गरेका छन् ।

भारत सरकारले सन् १९९४ देखि नेपालमा १०४९ वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरिसकेको छ । यस्तै, नेपालका शैक्षिक संस्थाहरुलाई ३०० वटा स्कुल बस, निर्वाचन प्रयोजनका लागि २०० वटा सवारी साधन तथा हालसालै मे २०२५ मा सगरमाथा संवादका लागि १५ वटा विद्युतीय सवारी साधन पनि उपहार दिइएको थियो ।

भारत र नेपालबीचको बहुआयामिक विकास साझेदारी जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै गएको उल्लेख गर्दै भारत सरकारले यस्ता सहयोग आगामी दिनमा पनि निरन्तर जारी रहने प्रतिबद्धता जनाएको छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*