आरएन पटेल
रौतहट,असार ०७ गते २०८२।
“ईशनाथको शान स्वच्छ, सफा, हराभरा, सुशाशित तथा सुन्दर, शान्त र विकशित नगरपालिका हाम्रो अभियान” भन्ने मूल नारा सहित ईशनाथ नगरपालिकाले आफ्नो ११ औं नगर सभा अधिवेशन भव्य रुपमा सम्पन्न गतेको छ।
रौतहटकाे ईशनाथ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ४९ करोड ६४ लाख ५२ हजार ४ सय ९७ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

सोमबार नगरसभाको सभाहलमा बसेको ११ औं अधिवेशनमार्फत नगर प्रमुख कौशलया देवी सिन्हाले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरिन् ।
प्रमुख प्रशासकीय अधिकृत नन्दनकिशोर गुप्ताले भने, “आगामी वर्षको बजेट समावेशी, दिगो र नतिजामुखी विकासलाई ध्यानमा राखेर तयार गरिएको हो । हाम्रा सबै योजना स्थानीय आवश्यकता र सम्भावनाको मूल्यांकनका आधारमा तय गरिएका छन् ।”
उनका अनुसार शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगार सृजना, कृषि प्रवर्द्धन र सफा खानेपानीका कार्यक्रमहरूमा बजेटको विशेष ध्यान केन्द्रित गरिएको छ । गुप्ताले थपे, “विगतका वर्षमा सिकेका अनुभवका आधारमा हामीले कार्यान्वयन योग्य र परिणाम दिने योजना छनोट गरेका छौं । बजेट पारदर्शिता र जिम्मेवारीताका साथ कार्यान्वयन हुनेछ ।”
नगर प्रमुख सिन्हाले पनि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै समावेशी विकास, डिजिटल सेवा विस्तार, बालमैत्री नगरपालिका निर्माण, महिला सशक्तिकरण, वातावरण संरक्षण तथा सडक सञ्जाल विस्तारलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएकी थिइन् ।
नगरपालिकाको यो बजेटले स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य, कृषि, र सामाजिक सुरक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
नगर सभामा प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर प्रसाद गुप्ता, विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, वडा अध्यक्षहरु, वडा सदस्यहरु, नगर कार्यपालिका सदस्य, कर्मचारी, पत्रकार, बुद्धिजीवी तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
Sthaniya News
