आरएन पटेल,रौतहट,असार ११ गते।
गुजरा नपा-१ मा बिउ विजन आत्मनिर्भर कार्यक्रम अन्तर्गत सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।जिल्लाकाे गुजरा नगरपालिका-१ रंगपुरस्थित साना किसान कृषि सहकारी संस्था लि.ले विउ विजन आत्मनिर्भर कार्यक्रम अन्तर्गत गोदाम घर निर्माण तथा विउ प्रशोधन मेशिन खरिद र जडानसम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम संस्थाको नव स्थापित विउ प्रशोधन केन्द्र परिसरमा आयोजना गरिएको थियो ।
कार्यक्रममा कृषि विकास निर्देशनालय, नकटाझिज, धनुषा –मधेश प्रदेशको ५०% लागत साझेदारीमा भएको सहयोगप्रति सहकारीका पदाधिकारीहरूले आभार व्यक्त गरेका थिए ।
सहकारी संस्थाका अध्यक्ष धर्मेन्द्र धामीले भने, “हामी स्थानीय किसानहरूलाई आत्मनिर्भर बनाउने दिशामा एक ठूलाे कदम चालिरहेका छौं । यो गोदाम र प्रशोधन केन्द्रले किसानका बिउको गुणस्तर सुधार्नेछ र उत्पादन लागत घटाउनेछ ।” उहाँले किसानको जीवनस्तर उठाउन यस्ता योजनाहरू दीर्घकालीन फाइदाकाे आधार हुने विश्वास व्यक्त गरेका हुन् ।
त्यस्तै, मुख्य प्रबन्धक कपुरीलाल बण्ठाले परियोजनाको पारदर्शिता र समावेशीपनमा जोड दिँदै भन्नुभयो, “हामीले सार्वजनिक सुनुवाईमार्फत स्थानीय समुदायलाई सूचित र सहभागी गराउने प्रयास गरेका छौं । हरेक काममा स्थानीय किसानको प्रत्यक्ष सरोकार कायम राखेका छौं ।”

कार्यक्रमका प्रमुख अतिथि गुजरा नगरपालिका वडा नं. १ रंगपुरका वडा अध्यक्ष रामजीत चौधरीले स्थानीय कृषक, उपभोक्ता प्रतिनिधि सम्पूर्ण जनप्रतिनिधिहरुले कृषिमा टेवा पुग्ने यस्ता कार्यक्रमहरुलाई प्रोत्साहन गर्दै स्थानीय किसाहरुलाई कृषि कार्यमा सहयोग हुने यस्ता विभिन्न प्रविधि बारे जानकारी गराई प्रत्येक कृषकको पहुँचमा ल्याउन सहयोग गर्ने आवश्यक रहेको औल्याएका छन ।
सहभागीहरूले परियोजनालाई सकारात्मक मूल्याङ्कन गर्दै सहकारी संस्था र निर्देशनालयलाई धन्यवाद ज्ञापन गरेका थिए । उक्त कार्यक्रमले विउ प्रशोधन तथा भण्डारण क्षेत्रमा गाउँमै पूर्वाधार निर्माणमार्फत कृषिमा आत्मनिर्भरताको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रममा साना किसान कृषि सहकारी संस्था लि. गुजरा-१ रंगपुरका सम्पूर्ण सदस्यगण, कर्मचारी, स्थानीय कृषक, उपभोक्ता प्रतिनिधि, जनप्रतिनिधि तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।
Sthaniya News
