राैतहट,असार १० गते।
रौतहटकाे परोहा नगरपालिकाको नगर अधिवेशनबाट करिब ५३ करोडको बजेट सहित शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखिएको छ। नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै आफ्नो ९ औं नगरसभा भव्यरूपमा सम्पन्न गरेको छ । मंगलबार नगरपालिकाको नव निर्मित प्रशासकीय भवनमा आयोजित सभामा नगर प्रमुख शेख वकिलले कुल ५३ करोड ६७ लाख ८२ हजार ६४ रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेका छन् ।
सभालाई सम्बोधन गर्दै नगरप्रमुख शेख वकिलले परोहालाई राज्यमै एक उदाहरणीय नगरपालिका बनाउने लक्ष्यसहित शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, महिला, बालबालिका, जेष्ठ नागरिक तथा सामाजिक विकास जस्ता प्राथमिक क्षेत्रमा विशेष जोड दिइएको बताएका छन् । “नगरवासीको साथ र सक्रिय सहभागिताका कारण नै परोहा आज यो स्थानमा आइपुगेको हो,” उनले भने ।
उक्त बजेटमा संघीय, प्रदेश तथा आन्तरिक स्रोतबाट प्राप्त रकम समावेश गरिएको छ । नगरप्रमुखका अनुसार बजेटको ठुलो अंश पूर्वाधार सुधार, आधारभूत सेवा प्रवाह तथा समावेशी विकासमा केन्द्रित हुने छ ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित नेपाली काँग्रेस रौतहटका सचिव रामचन्द्र गिरीले परोहामा शिक्षा, स्वास्थ्य, कृषि र सिँचाइ क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताउँदै स्थानीय सरकारको सेवा प्रवाहप्रति नागरिक सन्तुष्ट रहेको बताए ।
सभामा उपप्रमुख सुगान्धी गिरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत महम्मद महफुज, इन्जिनियर दिपेन्द्र यादव, वडाध्यक्षहरू तथा वडा सचिवहरू समेत उपस्थित थिए । उनीहरूले नगरपालिकाले स्थापना कालदेखि नै विकास निर्माणका क्षेत्रमा देखाउँदै आएको अग्रणी भूमिका र सफलताहरूको प्रशंसा गरेका छन् ।
नगरसभाको समापनसँगै आगामी वर्षको योजनाहरू कार्यान्वयन चरणतर्फ उन्मुख हुने संकेत दिइएको छ । अब स्थानीय नागरिक र सरोकारवालाहरूको चासो, प्रस्तुत योजनाहरूको व्यवहारिक कार्यान्वयनमा केन्द्रित रहने देखिन्छ ।
Sthaniya News
