राैतहट,१० गते असार ।
राैतहटकाे गुजरा नगरपालिका–४ स्थित कनकपुरमा करिब ४५ लाख रुपैयाँको लागतमा हुने सडक स्तरोन्नति तथा आर.सी.सी. ढलान कार्यको शिलान्यास सम्पन्न भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय, मधेश प्रदेश सरकारको विनियोजित बजेटमार्फत निर्माण हुन लागेको उक्त परियोजनाको शिलान्यास मधेश प्रदेशका पूर्व राज्यमन्त्री केशव राय चौधरीले गर्नु भएको हो ।शिलान्यास कार्यक्रममा बोल्दै पूर्व राज्यमन्त्री चौधरीले यस सडक परियोजनाले स्थानीय जनताको दैनिक आवतजावत सहज बनाउने तथा समग्र क्षेत्रको विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन् । “भौतिक पूर्वाधारको सुदृढीकरणमार्फत विकासको गति बढाउन प्रदेश सरकारले निरन्तर पहल गरिरहेको छ,” उहाँले भन्नुभयो ।करिब ४५ लाखको लागतमा सम्पन्न हुने यस सडक स्तरोन्नति तथा ढलान परियोजनाले वर्षातको समयमा हुने कीचड र हिलाको समस्याबाट स्थानीयलाई मुक्ति दिलाउने अपेक्षा गरिएको छ। स्थानीय बासिन्दाहरूले सडक सुधारको लागि लामो समयदेखि आवाज उठाउँदै आएका थिए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । अलि ढिलै भएपनि निर्माण कार्य सुरु भई तोकिएको समयसीमा भित्र सम्पन्न गरिने निर्माण पक्षले जानकारी दिएको छ ।
Sthaniya News
