रौतहट, असार ११ गते ।
देवाही गोनाही नगरपालिकाको आर्थिक सहयोगमा सृजनात्मक समाज कल्याण केन्द्र नेपालको आयोजनामा सञ्चालित चार दिने साइबर अपराध सचेतना तालिम मंगलबार एक विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ। तालिम समाजमा दिनप्रतिदिन बढ्दो साइबर अपराधका घटनाहरूलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको हो ।
प्रशिक्षकका रूपमा उपस्थित ईलाका प्रहरी कार्यालय, देवाही गोनाहीका प्रहरी निरीक्षक कमल कुमार लुङ्गेलीले सहभागीहरूलाई साइबर अपराधका विभिन्न स्वरूपहरू, यसबाट जोगिने उपाय, नेपालको साइबर कानुन तथा सुरक्षित इन्टरनेट प्रयोगबारे विस्तृत प्रशिक्षण दिनुभयो ।
उहाँले सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगी, साइबर बुलिङ, ह्याकिङजस्ता संवेदनशील विषयमा सचेत गराउँदै, डिजिटल दुनियाँमा सजग बन्न आग्रह गर्नुभयो ।
तालिमको समापन कार्यक्रममा सृजनात्मक समाज कल्याण केन्द्र नेपालका अध्यक्ष विवेक शर्माको सभापतित्व रहेको थियो भने देवाही गोनाही नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष विष्णु कुमार दास प्रमुख अतिथि रहनुभएको थियो ।
समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष दासले यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक चेतना फैलाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सहभागीहरूलाई तालिमबाट सिकेका कुरालाई व्यवहारमा उतार्न र प्रविधिको सही सदुपयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष विवेक शर्माले तालिमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै यस प्रकारका सामाजिक सचेतनामूलक कार्यक्रमहरूलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा देवाही निवासी अमरेश पटेलको विशेष सहयोगप्रति पनि आभार प्रकट गरिएको थियो । सहभागीहरूले तालिम अत्यन्त प्रभावकारी, जानकारीमूलक र समय सान्दर्भिक रहेको प्रतिक्रिया दिएका छन् ।
Sthaniya News
