आरएन पटेल
रौतहट,असार १२ गते।
रौतहटको गुजरा-१ मा कृषि उत्पादन बजारीकरण सम्बन्धी कृषि अनुसन्धान निर्देशनालयको बैठक सम्पन्न भएको छ। जिल्लाको गुजरा नगरपालिका वडा नं. १ रङगपुरस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको सभाहलमा उद्योगी, उत्पादक, बिक्रेता, संकलक आदि संगको सहकार्यमा बाली/वस्तु उत्पादन बजारीकरण समन्वय कार्यक्रमको दोस्रो बैठक सम्पन्न भएको छ ।

कृषकहरूको विभिन्न समस्याहरुको पहिचान गर्ने मुख्य उद्देश्य सहित कृषि अनुसन्धान निर्देशनालय मधेश प्रदेश परवानीपुर बाराको आयोजकत्वमा उक्त कार्यक्रम आयोजन गरिएको कृषि अनुसन्धान निर्देशनालय परवानीपुरका प्रमुख डा. विशेश्वर प्रसाद यादवले बताएका छन। प्रमुख अतिथि तथा मुख्य प्रशिक्षकका रूपमा सहभागी हुनु भएका डा. यादवले कृषि क्षेत्रलाई थप सबल बनाउन किसान संग कृषि वैज्ञानिक कार्यक्रम सञ्चालन गर्न लागेको बताएका छन। कृषि विज्ञले प्रत्यक्ष रुपमा किसानहरुसंग सहकार्य गरेर कृषि कार्यमा दिनप्रतिदिन बढ्दै गएको समस्याहरुको समाधान खोज्न तथा विभिन्न अनुसन्धानको कार्य गर्न पाउदा आफुलाई खुशी लागेको उनले बताए। हाम्रा कार्यालयले कृषि क्षेत्रमा लागेका सम्पूर्ण अभिभावक तथा किसानहरूको प्रत्येक समस्यामा साथ सहयोग सहित असल मार्ग निर्देशन दिने प्रतिवद्धता समेत उनले जाहेर गरेका हुन।

निर्देशनालयका प्रतिनिधिहरुले बैठकमा सहभागी भएका स्थानीय किसानहरूले उठाएका विभिन्न समस्याहरु मल अभाव, सिँचाइको कमी, बजार मूल्यमा अस्थिरता, बाली भण्डारणको असुविधा र बजारीकरणमा समन्वयको कमी लगायत बाली तथा वस्तु उत्पादनमा सहयोग गर्ने दक्षजनशक्तिको अभाव जस्ता समस्याहरू प्रस्तुत गरेका थिए ।
डा. यादवले – “कृषि अनुसन्धानसँगै किसानका व्यवहारिक समस्यामा ध्यान दिनु जरुरी छ । हामी समाधानका लागि सम्बन्धित निकायहरूसँग समन्वय गरी अगाडि बढ्नेछौं” उनले थपे। डा. यादवले सबै समस्या गम्भीरतापूर्वक सुनी समाधानका लागि मन्त्रालय र सम्बन्धित निकायसँग समन्वय गर्ने आश्वासन दिनुभयो। साथै “कृषि विकासका लागि अनुसन्धान मात्र होइन, किसानको आवाज बुझ्नु अझ जरुरी छ। हामी प्रदेश स्तरबाट समस्या समाधान गर्न प्रयास गरिरहेकै छौं” उनले भने।

बैठकले स्थानीय तह, प्राविधिक निकाय र किसानबीच सहकार्य बढाउने प्रतिबद्धता जनाएको छ । कार्यक्रममा कृषि अधिकृत, कृषि सहकारी संस्था र कृषक समूहको समेत उपस्थिति रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड सञ्चालक समिति अध्यक्ष धर्मेन्द्र धामीले जानकारी गराएका छन ।
कार्यक्रमले किसान र कृषि विज्ञ बीचको संवादमा नयाँ ऊर्जा दिएको स्थानीयहरुको प्रतिक्रिया रहेको छ ।कार्यक्रममा स्थानिय किसानहरु, उद्योगी, व्यापारी, उत्पादक, बिक्रेता, संकलक लगायत साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धक तथा कर्मचारीहरु लगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
Sthaniya News
