आरएन पटेल
रौतहट, साउन १३ गते।
साउन महिना मध्यतिर पुग्दासमेत पर्याप्त वर्षा नपर्दा रौतहटका विभिन्न ठाउँमा धान रोपाई कार्य प्रभावित बनेको छ । पानी अभावका कारण किसानहरूले समयमै रोपाइँ गर्न सकेका छैनन् भने रोपेको धान पनि सुक्न थालेको छ ।
वर्षभरिका लागि खान पुग्ने धान उत्पादनमा असर पर्ने देखिएपछि किसानहरू चिन्तित बन्दै गएका छन् ।खडेरीकै कारण कतिपय किसानहरू मोटर पम्प, इनार वा नजिकैको खोलाबाट पानी तानेर सिचाई गर्न बाध्य छन् तर सबैसँग यस्तो स्रोत नहुँदा धेरै किसानको खेत बाँझो बस्ने सम्भावना बढेको छ ।

लामो समयसम्मको खडेरीले धान खेती गर्न नसकेपछि रौतहटका किसानहरूले परम्परागत धार्मिक विधिमा आस्था राख्दै भूमि देवीको पूजा, कंकाली मन्दिरमा पूजा तथा विभिन्न विधि विधान अनुरूपको पूजाआजा सुरु गरेका छन् । जलका देवता र भूमिको रक्षार्थ रौतहटका विभिन्न स्थानीय तहका किसानहरूले लामो समय पछिको खडेरीले खेतीयोग्य जमिन बाझै हुन थालेपछि भुमी देवताको पूजापाठ गरेका छन् ।
जिल्लाको बौधिमाई नगरपालिका वडा नं. २ इनर्वाका किसानहरुले प्रत्येक घरबाट सामिल भएर बाराको सिमरौनगढ़ बजारमा रहेको कंकाली माई मन्दीरमा पुगेर पुजा गर्दै पानी मागेका वडा अध्यक्ष धर्मेन्द्र प्रसाद पटेलले बताएका छन् । लामो समयसम्म पानी नपरेर अहिले सम्म रोपाइ गर्न नपाएको र खेतबारीमा लगाइएका अन्नबाली सुक्न थालेपछि भुमी पूजा गरेर पानी माग गरेको बौधिमाई नगरपालिका २ का किसान शंकर प्रसाद मस्तानाले बताए । उनका अनुसार परापूर्वक कालदेखि नै कंकाली माई मन्दिरमा पुगेर भुमी पूजा गर्दा पानी पर्ने गरेको किम्बदन्ती रहेको छ । विगतमा जस्तै यसवर्ष पनि लामो समय देखि खडेरी परेपछि यहाँ पूजाआजा गरेर पानी मागिएको उनले बताए। परापूर्व कालदेखि नै लामो समयसम्म पानी नपरी खडेरी हुँदा यहाँका भुमी देवतालाई पूजा गर्दा पानी परेको र पूजा गरेपछि पानी परेको किम्बदन्ती अहिलेसम्म पनि यथावत रहेको छ ।

पानी नपर्दा व्याडमै सुक्न थाल्यो धानको बीउ
रौतहटको केही क्षेत्रमा अर्थात कुलो नहर नभएको क्षेत्रमा वर्षा नँहुदा धानको बीउ खेतमै सुक्न थालेको छ । असार अन्तिम र साउनको पहिलो साता सम्ममा गत वर्षहरुमा धान रोपाइ सकिन्थ्यो। तर, यसपटक भने असार सकिएर पनि साउनको पहिलो हप्तासम्म पानी नपर्दा धानको बीउ सुक्न थालेको बौधिमाई नपा-२ इनर्वाको किसान रामसोगारथ पटेलले बताए। सिंचाइको लागि स्यालो ट्यूबेल, मोटर र पम्पीसेटबाट पानी ल्याएर थोरै रोपेका खेतमा समेत सिंचाइ नपुग्दा धान सुक्न थालेको उनको भनाइ छ। खेतमा पानी पुर्याउन किसानहरुलाइ धौ धौ परिरहेको छ। कति ठाउँमा त पानीकै लागि झैझगडा मनमुटाव पनि सुरु भएको छ।

मोटरबाट पानी तानेर सिंचाई
जिल्लाको परोहा, राजपुर, ईशनाथ,बौधिमाई, मौलापुर तथा देवाही गोनाही लगायतका पश्चिमी भेगका पालिका आसपासमा पनि लामो समयसम्म पानी नपरेपछि तथा कुलो नहर नभएकाले लगाएको धान र अन्नबाली सुक्न थालेपछि मोटरको सहायताले पानी सिचाई गर्न किसानहरु बाध्य भएका छन् । खडेरीले जमिनको सतहमुनिको पानी नै सूक्न थालेपछि प्रायः जसो पालिकाका किसानहरुले मोटरको सहायताले सिंचाई गर्दै आइरहेका छन्। त्यसमा पनि अघोषित लोडशेडिंगले बिधुत आपूर्तिमा पारेको समस्याले विधुत मोटरबाट सिंचाई गर्न अनेकौ समस्या भोगिरहेको बौधिमाई-२ का एक किसान छोटेलाल राउटले बताए। विधुत मोटरबाट सिंचाई गर्न आवश्यकता अनुसारको बोल्टेज नदिनु, छिन छिनमा लाइन काटिनु, २४ औं घण्टा समय दिदा पनि मोटरबाट ४ कठ्ठा समेत धानबालीमा सिंचाई गर्न नसकदा आफूहरु सास्ती खेपिरहेको उनले थपे। यता प्राधिकरणमा आएको विभिन्न समस्याका कारण छिन छिनमा लाइन काटने गरेको तथा उक्त कारण समेत प्राधिकरणले सामाजिक सञ्जालबाट सूचना सम्प्रेषण गर्दै आएको मौलापुर विधुत प्राधिकरणका प्रमुख इंजीनियर रामदिनेश यादवले बताएका हुन।
लगाइसकेका धानबालीलाई बचाई राख्न तथा थप लगाउन बाकी रहेका खाली खेती योग्य जग्गामा रोपाई गर्न किसानहरू बाध्य भएर पम्पीसेटको मदतले दिन्हु हजारौं हजारको इन्धन खर्च व्यहोर्न बाध्य भएको अर्का किसान बिरेन्द्र प्रसाद पटेलले बताए। एक बिगहा खेतमा सिंचाई गर्दा करिब १२ देखि १५ हजार रुपैयाँसम्म खर्च हुँदै आइरहेको उनले बताए।
Sthaniya News
