Breaking News
राैतहटमा डीएपी मल अभावले किसान हैरान

राैतहटमा डीएपी मल अभावले किसान हैरान

आरएन पटेल,राैतहट, साउन १४ गते।
लगातार धेरै दिनदेखि पानी नपरेपछि रौतहटका किसानहरू विद्युत् मोटर र नहरमार्फत खेतमा पानी पुर्‍याएर जेनतेन धान रोपिरहेका छन् । असार महिनाको अन्त्यतिर आइपुग्दा रोपाइँको मुख्य सिजन तिव्र गतिमा चलिरहेको छ, तर खेतीका लागि अत्यावश्यक डीएपी मल अझै पनि किसानको हातमा पुग्न सकेको छैन ।
साल्ट ट्रेडिङ्ग कर्पोरेसनको गौर शाखाले किसानलाई दुईपटक युरिया मल वितरण गरिसकेको भए पनि डीएपी मल भने हालसम्म नपुगेको जानकारी दिएको छ । गौर शाखाका प्रमुख बालदेव मिश्रले गोदाममा डीएपी मल उपलब्ध नभएकाले वितरणमा ढिलाइ भएको बताए । “१८ गतेसम्ममा डीएपी मल उपलब्ध गराउने तयारी भइरहेको छ,” उनले जानकारी दिए ।

धान रोपाइँमा युरिया र डीएपी दुवै मल अत्यावश्यक मानिन्छ । तर हरेक वर्ष जस्तै यसपालि पनि किसानहरू मलको अभाव झेल्न बाध्य छन् । स्थानीय किसान शिवनाथ यादव आक्रोश पोख्छन्, “धान रोप्ने मुख्य बेला यही हो, तर युरिया मात्र दिनु भएर के काम? हामीलाई डीएपी पनि चाहिन्छ, नभए खेतीमा असर गर्छ ।”

वर्षा नपरेकाले पानीको व्यवस्थापनमै किसानहरूको ध्यान गएकाले मल अभावले थप तनाव सिर्जना गरेको छ । समयमा मल नपाइएमा उत्पादनमा गिरावट आउने चिन्ता बढ्दो छ । केही किसान त भारतीय बजारबाट महँगो मूल्यमा मल किनेर ल्याउन बाध्य भएको गुनासो पनि गर्छन् ।

स्थानीय तहदेखि संघीय सरकारसम्मको उदासीनता र समयमै मल व्यवस्थापन गर्न नसक्ने प्रवृत्तिप्रति किसानहरू आक्रोशित छन् । उनीहरू अब ढिला नगरी चाँडोभन्दा चाँडो डीएपी मल उपलब्ध गराएर खेतीमा विश्वास दिन सरकारसँग माग गरिरहेका छन् ।
“सरकारले बेला नपुग्दै भाषण दिन्छ, तर खेतीको बेला मल दिन सक्दैन,” एक वृद्ध किसानको टिप्पणी थियो, “हामीलाई भाषण होइन, समयमा मल चाहिएको हो ।”

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*