स्थानीय न्यूज,राैतहट, साउन ११ गते।
रौतहटमा लामो समयदेखि पानी नपर्दा र गर्मी अत्यधिक बढेसँगै राजपुर नगरपालिकाका केही स्थानहरूमा चापाकल सुक्न थालेका छन् । यस्तो विषम परिस्थितिमा नगरवासीहरूलाई राहत पुर्याउन राजपुर नगरपालिकाले खानेपानी आपूर्तिको काम तीव्र गतिमा अघि बढाएको छ ।

नगरप्रमुख डा. राजिक आलमले यो अवस्थालाई ‘महा विपद्’ भन्दै केन्द्र सरकार र प्रदेश सरकारलाई राहत घोषणा गर्न हार्दिक अपिल गरेका छन् । “स्थानीय स्तरबाट हामीले सक्दो पहल गरिरहेका छौं, तर यस्तो आपत्कालीन अवस्थामा माथिल्लो सरकारको सहयोग अति आवश्यक छ,” उनले भने।

खानेपानी संकटबाट बढी प्रभावित वडा नम्बर ५ र ६ का टाढाका बस्तीहरूमा अहिले पाइप विस्तार गरी खानेपानी पुर्याउने कार्य भइरहेको प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले जानकारी दिए । “खानेपानी ट्यांकीबाट टाढा रहेका गाउँहरूमा पाइप विस्तार गरेर स्वच्छ पानी पुर्याउने काम नगरपालिकाले प्राथमिकताका साथ अघि बढाएको छ,” ठाकुरले भने ।
राजपुर नगरपालिकामा चापाकल सुक्न थालेपछि अन्य वैकल्पिक स्रोतहरू पहिचान गरी आपूर्ति व्यवस्था मिलाउन समेत सुझाव दिईएकाे छ ।
स्थानीय बासिन्दाहरूले नगरपालिकाकाे याे पहल प्रति आभार व्यक्त गरेका छन् । तर, उनीहरूले यो समस्या दीर्घकालीन समाधान खोज्न पनि आग्रह गरेका छन् ।
राजपुरमा बढ्दो तापक्रम र घट्दो जलस्रोतका कारण आगामी दिनहरूमा अझ गम्भीर संकट आउने संकेत देखिएको छ । यस्तो अवस्थामा दीर्घकालीन योजना र तत्कालीन राहत दुवै अपरिहार्य देखिन्छ ।
Sthaniya News
