रौतहट, साउन २५ गते ।
सामाजिक सुरक्षा र बालपोषण भत्ता वितरणमा एनआईसी एशिया बैकले लापरवाही गरेको आरोप लगाउदै आक्रोशित लक्षित वर्गद्वारा नगर कार्यपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।
गुजरा नगरपालिका स्थित सिमरा भवानीपुरमा रहेको एनआईसी एशिया बैंकले सामाजिक सुरक्षा र बालपोषण भत्ता वितरणमा लामो समयदेखि ढिलाइ गरेको भन्दै लाभग्राहीहरू आक्रोशित भएका हुन् । जेष्ठ नागरिकहरूले भत्ता वितरणमा भएको ढिलाइको विरोधमा गुजरा नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेर विरोध जनाएको छ । गुजरा नगरपालिकामा अहिले ३,३०० जेष्ठ नागरिक र ५,४०० बालपोषण भत्ता पाउने लाभग्राही रहेका छन् ।
नगरपालिकाबाट गत असार ११ गते जेष्ठ नागरिक भत्ताका लागि ५ करोड र बालपोषण भत्ताका लागि ९४ लाख रुपैयाँ बैंकमा जम्मा गरिसकेको भए पनि एनआईसी एशिया बैंकले अझै रकम वितरण नगरेको गुनासो छ । बैंक प्रशासनले कर्मचारी अभाव र तालिका प्रकाशनमा ढिलाइ भएको कारण देखाएको छ । बैंक म्यानेजर सदाव प्रवेजले यस्तो ढिलाइको कारण तालिका प्रकाशनमा भएको समस्या आएको बताए ।
यता, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय नारायण देवकोटाले समयमै रकम पठाइएको र वितरणको जिम्मेवारी बैंकको भएको स्पष्ट पारे । तर, लाभग्राहीहरूले बैंकको यो स्पष्टीकरणप्रति असन्तुष्टि जनाए । स्थानीयले बैंकले भत्ता रकम होल्ड गरेर व्यावसायिक लगानीमा प्रयोग गर्ने पुरानो प्रवृत्ति दोहोर्याएको आरोप लगाए ।
ढिलाइले जेष्ठ नागरिक र बालपोषण भत्ता पाउनेहरू दैनिक बैंक धाउन बाध्य छ । जसले उनीहरूलाई मानसिक र आर्थिक तनावमा पारेको छ । लाभग्राहीहरूले समयमै भत्ता वितरणको माग गर्दै आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन् ।
लाभग्राहीले करिव डेढ घण्टा सम्म कार्यालयमा ताला लगाएको भएपनि प्रमुख प्रशासकीय अधिकृतले निकै सम्झाई बुझाई गरेर समस्या बैंकको रहेको हुँदा बैंकलाई समन्वय गरेर चाँडै सामाजिक सुरक्षाको रकम वितरण गरिने स्पष्ट पारे ।
Sthaniya News
