आरएन पटेल
रौतहट, साउन ३० गते।
फतुवा विजयपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५६ करोड ३२ लाख ९५ हजार १ सय ५१ रुपैयाँको बजेट प्रस्तुत गरेको छ। नगरसभाको ९औं अधिवेशनमा कार्यबाहक नगर प्रमुख अम्बेया ख़ातूनको निर्देशनमा वडा नं. ९ का वडा अध्यक्ष राकेश यादवले बजेट प्रस्तुत गरेका हुन्।

प्रस्तावित बजेटमध्ये २० करोड ६८ लाख ७१ हजार रुपैयाँ पूँजीगततर्फ र ३५ करोड ६४ लाख २४ हजार १ सय ५१ रुपैयाँ चालूतर्फ विनियोजन गरिएको छ। शिक्षा, स्वास्थ्य, सडक, पूर्वाधार, कृषि, पोषण र रोजगारीजस्ता क्षेत्रमा विशेष प्राथमिकता दिइएको उनले स्थानीय न्यूजलाई जानकारी गराएका हुन।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवका अनुसार समृद्ध पालिका निर्माणका लागि आर्थिक तथा सामाजिक विकास, पूर्वाधार निर्माण, वन-वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत सेवा प्रवाह, भूमिहीन सुकुम्बासी, पोषण, रोजगारी र लघु उद्यमजस्ता शीर्षकमा बजेट छुट्याइएको छ।
यस वर्ष वडा नं. ९, १० र ११ का ८४ जना भूमिहीन सुकुम्बासीलाई जग्गा दर्ता प्रमाण-पुर्जा वितरण गरिने स्थानीय न्यूजलाई बताए। साथै वडा नं. १ देखि ११ सम्मका भूमिहीनहरूको सर्वेक्षण तथा तथ्यांक संकलन गरिने योजना रहेको छ।
नगरपालिकाका लेखा अधिकृत कामेश्वर सहनीका अनुसार शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, कृषि र पशु सेवालाई बजेट निर्माणमा अग्रता दिइएको हो।
नगर सभा कार्यक्रममा वडा नं १ देखी ९ सम्मका वडा अध्यक्षहरु प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादव, लेखापाल कामेश्वर सहनी, प्रदेश सभा सदस्य प्रत्याशी समाजसेवी मोहम्मद शेराज, नगरपालिकाको कर्मचारीहरू, पत्रकार लगायत स्थानीय बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।
Sthaniya News
