आरएन पटेल, रौतहट, भदौ २६ गते ।
रौतहट जिल्लामा जारी निषेधाज्ञा र कर्फ्यूका बाबजुद केही समूहले आन्दोलनको नाममा तोडफोड र लुटपाटजस्ता अराजक गतिविधि गर्ने आशंका भएपछि कटहरिया बजारमा आज एक सर्वपक्षीय बैठक सम्पन्न भएको छ । शान्ति र सुरक्षा सुनिश्चित गर्न आयोजित उक्त बैठकमा व्यापारी, समाजसेवी, पत्रकार, युवा तथा सुरक्षा निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता थियो ।
बैठकमा हालको सुरक्षापरिस्थितिको समिक्षा गर्दै संभावित अराजकतामा पूर्वतयारीका रूपमा सुरक्षा व्यवस्थालाई अझ मजबुत बनाउने निर्णय गरिएको छ । इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई धर्मेन्द्र पौडेलले नगरवासीहरूलाई संयमित, जिम्मेवार र सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
“सार्वजनिक सम्पत्ति हाम्रो आफ्नै हो । देश र समाजको शान्ति जोगाउन सबैको सक्रियता अपरिहार्य छ,” प्रमुख पौडेलले बैठकमा भन्नुभयो । उहाँले यस्तो संवेदनशील समयमा कुनै पनि अप्रिय गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई जानकारी गराउन समेत अनुरोध गर्नुभयो ।
बैठकमा नगरवासीहरूलाई अनैतिक वा हिंसात्मक गतिविधिमा संलग्न नहुन, सामाजिक सद्भाव कायम राख्न र सुरक्षामा सहकार्य गर्न विशेष अपिल गरिएको छ । प्रमुख पौडेलले गस्तीलाई अझ सशक्त बनाइने जानकारी दिँदै समुदायको साथ र समर्थनले मात्रै शान्ति स्थायीत्व हुनसक्ने धारणा राख्नुभयो ।
<span;>स्थानीय तहमा सम्भावित तनाव र अराजकताप्रति साझा जिम्मेवारीको भावना जागृत गर्दै सम्पन्न भएको यो बैठकले शान्ति सुरक्षाप्रति प्रतिबद्धता प्रकट गरेको छ।
Sthaniya News
