आरएन पटेल
रौतहट, असोज १ गते ।
रौतहट जिल्लाको वृन्दावन नगरपालिकामा हार्दिक श्रद्धाञ्जली सहित सहिद दिवस भव्यताका साथ मनाइएको छ। देशको अवस्था र व्यवस्था परिवर्तनका लागि जेनजि आन्दोलनका क्रममा सहादत प्राप्त गरेका अमर सहिदहरूको सम्झनामा विशेष कार्यक्रमसहित सहिद दिवस मनाइएको हो । कार्यक्रममा नगर प्रमुख विनोद प्रसाद कुर्मीले नगरपालिकाको तर्फबाट सहिदहरूको अमूल्य योगदानप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको आत्माको चिरशान्तिको कामना गर्नुभएको छ ।

“देश र जनताको हितका लागि ज्यान अर्पण गर्ने सहिदहरू हाम्रो गौरव हुन् । उहाँहरूको बलिदान र आदर्शलाई आत्मसात गरी हाम्रो पालिकाको समृद्धि र विकासमा अग्रसर हुनु नै सहिदप्रति सच्चा श्रद्धाञ्जलि हो, भन्दै सहिदहरूको सम्झनामा एक दिन सार्वजनिक बिदा दिइएको नगर प्रमुख कुर्मीले जानकारी दिनुभयो ।
उपस्थित सबैले एक मिनेट मौनधारण गर्दै सहिद आत्माको चिरशान्तिको प्रार्थना गरेका थिए । नगर प्रमुख कुर्मीले सहिदहरूको स्वर्गमा बासको कामना गर्दै पालिकाले आगामी दिनहरूमा उहाँहरूले देखाएको त्याग र बलिदानीलाई उच्च कदर सहित सत्य, न्याय र समानताको पक्षमा अडान लिन प्रतिबद्ध रहेको प्रतिवद्धता जनाउनुभयो । यस अवसरमा पालिकाका सम्पूर्ण कर्मचारी, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, शुभेच्छुक, समाजसेवी, बुद्धिजीवी तथा स्थानीय जनसमुदायको सहभागिता रहेको थियो ।
Sthaniya News
