आरएन पटेल,राैतहट,असाेज १९ गते ।
रौतहटको बौधीमाई नगरपालिकामा निरन्तर वर्षापछि आएको बाढीले भयानक स्थिति निम्त्याएको छ । ईनरवा, अजगैवी, कोपवा, पिपरिया, सरमुज्वा बंकुल लगायतका गाउँहरूमा बाढी पस्दा हजारौं बिगाहा धानबाली नष्ट भएका छन् । कृषिमा आश्रित किसानहरूको वर्षदिनको मेहनत पानीमै बगेको छ ।
किसानहरू अहिले अत्यन्तै पीडित र आक्रोशित छन् । उनीहरू भन्छन्, “धान भित्र्याउने तयारीमै थियौं, बाढीले सबै बगायो । अब परिवार पाल्ने आधार समेत रहेन।

सरकारको ध्यान कहिले आउला?”
स्थानीय कृषकहरूका अनुसार बाढीले भर्खरै पाक्न थालेका धानबाली, तरकारी लगायतका अन्नबाली पूर्णरूपमा नष्ट गरिदिएको छ । सिचाइको लागि संघर्ष गर्दै उत्पादन गरेका बाली बगाउँदा किसानहरू अहिले निराश र शोकाकुल छन् ।

निर्माणमा लापरवाही, क्षतिको जड
विगत वर्ष लालबकैया नदीमा आएको बाढीले भत्किएको बाँध पुनःनिर्माणका लागि नदी नियन्त्रण कार्यालय, बीरगञ्जले झण्डै ६० लाख रुपैयाँ विनियोजन गरेको थियो । तर, स्थानीय जनप्रतिनिधि र उपभोक्ता समिति बीचको आपसी विवाद, समन्वयको अभाव र व्यक्तिगत स्वार्थका कारण काम समयमा हुन सकेन् ।
स्थानीयवासीको आरोप छ कि ढिलोगरी निर्माण गरिएको बाँधमा गुणस्तरहीन सामग्री प्रयोग गरिएको थियो । माटोको अभावमा बालुवाले बाँध बनाइएको तथा जाली बाेल्डर (स्पर लञ्चिङ) जस्तो महत्वपूर्ण संरचना नबनाइँदा यसपालिको वर्षाले पुनः बाँध भत्किएर बस्तीहरू डुबानमा परेका हुन् ।
नगरप्रमुखको अस्वीकार, जनताको आक्रोश
बौधीमाई नगरप्रमुख प्रदीप कुमार यादवले भने आफू बाँध निर्माणमा प्रत्यक्ष संलग्न नरहेको दाबी गरेका छन् । उनका अनुसार नदी नियन्त्रण कार्यालयले ठेकेदारमार्फत जाली बाेल्डरको टेण्डर गरिसकेको भए पनि समयमा काम सम्पन्न नभएकाले यस्तो विपत्ति आइपरेको हो ।
तर स्थानीय नागरिकहरू भने नगरपालिकाको प्रत्यक्ष लापरवाहीका कारण जनधनको क्षति भएको बताउँछन् । उनीहरूले निर्माणको कार्यमा पारदर्शिता नभएको, जनताको आवाज नसुनेको र जनप्रतिनिधिहरूले राहत तथा क्षतिपूर्तिमा समेत चासो नदेखाएको गुनासो गरेका छन् ।

बहुसंख्यक सांसदहरूको उपस्थिति, तर योजना शून्य
रौतहट क्षेत्र नम्बर २ मा हालैको निर्वाचनबाट पाँच जना प्रदेश सांसद र एक संघीय सांसद चयन भएका छन् । ती हुन्
संघीय सांसद किरण साह,प्रदेश सांसद कनिश पटेल (सपा), जैद राजा (एमाले), इ. बसन्त कुशवाहा (जनमत), जयचन्द्र पटेल (एमाले), र शोभा देवी साह (जसपा) छन् ।
तीन जना प्रदेश सांसद रहेको बाैधीमाई नगरपालिका भएर पनि बौधीमाईका लागि न त नदी नियन्त्रणको ठोस योजना आउन सकेको छ, न त विपद् व्यवस्थापनको दीर्घकालीन रणनीति । बाढी नियन्त्रणका लागि गरिएको खर्च कति उपयोग भयो, कति बन्दरबाँटमा गयो । जनताले सोध्न थालेका छन् ।

“अब गैरजिम्मेवारलाई बिदा गरौं” – त्रिभुवन साह (अमर)
बौधीमाईका नगरप्रमुख पदका प्रत्यासी त्रिभुवन साह (अमर) भन्छन्, “गत वर्ष बाँध निर्माणका लागि छुट्याइएको लाखौं रकम बालुवाको कमसल बाँधमा खर्च भयो । त्यसकै कारण अहिले बस्ती डुबेको छ । जनताले यसको जवाफ माग्नैपर्छ । अब परिवर्तनको निम्ति सबै अघि बढ्नु पर्छ।”
माग: राहत, छानबिन र दीर्घकालीन योजना
पीडित किसानहरूले सरकारसँग तत्काल राहत, निष्पक्ष क्षतिपूर्ति र बाढी नियन्त्रणका लागि प्रभावकारी दीर्घकालीन योजना ल्याउन आग्रह गरेका छन् । साथै बाँध निर्माणमा देखिएको अनियमितताको गम्भीर छानबिन हुनुपर्ने उनीहरूको माग छ ।
बाढीले भौतिक क्षति मात्र होइन, राजनीतिक जिम्मेवारीबारे गम्भीर प्रश्न खडा गरेको छ । अबको आवश्यकता छ । पारदर्शिता, जवाफदेही नेतृत्व र जनताको सरोकारमा आधारित निर्णय प्रक्रिया । यस विषयमा नदि नियन्त्रण कार्यालयका कार्यालय प्रमुख माे.अकलाख सँग सम्पर्क गर्न खाेज्दा फाेन रिसिभ हुन सकेको छैन् ।
Sthaniya News
