Breaking News
नगर प्रमुख कुर्मीद्वारा वृन्दावनमा छठ व्रतालुलाई ४ सय थान साडी वितरण

नगर प्रमुख कुर्मीद्वारा वृन्दावनमा छठ व्रतालुलाई ४ सय थान साडी वितरण

रौतहट, कार्तिक ८ गते ।

रौतहट जिल्लाको वृन्दावन नगरपालिकामा हिन्दू धर्मावलम्बीहरूको आस्थाको महान पर्व छठको अवसरमा व्रतालु महिलाहरुलाई साडी वितरण गरिएको छ। नगर प्रमुख विनोद प्रसाद कुर्मीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रममा वडा नं- ८ र वडा नं- ९ का करिब ४ सय व्रतालु महिलाहरूलाई साडी सेट वितरण गरिएको हो।

कार्यक्रममा नगर प्रमुख कुर्मीले उपस्थित व्रतालु महिलाहरूलाई शुभकामना दिँदै छठ पर्वले समाजमा एकता, आपसी सद्भाव र धार्मिक सहिष्णुताको सन्देश प्रवाह गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “छठ केवल पूजापाठको पर्व होइन, यो हाम्रो संस्कृति, परम्परा र आस्थाको प्रतीक हो। नगरपालिकाको तर्फबाट व्रतालु दिदीबहिनीहरूलाई सानो सम्मानस्वरूप साडी वितरण गरिएको हो।”

वृन्दावन नगरपालिकाका वडा नं–८ का वडाध्यक्ष रवीन्द्र प्रसाद साह र वडा नं–९ का वडाध्यक्ष परवेज आलम ले संयुक्त रूपमा कार्यक्रमको सञ्चालनमा सहयोग गरेका थिए। उनीहरूले पनि आफ्ना वडाका व्रतालु महिलाहरुलाई शुभकामना दिँदै छठ पर्वले सबैमा ऊर्जा, समृद्धि र पारिवारिक सौहार्द ल्याओस् भन्ने कामना गरे। साडी वितरण कार्यक्रममा वडा सदस्यहरू लालपरी देवी, राम रिखि देवी, साथै स्थानीय नेताहरू राम कल्याण यादव, राजेश पासवान, प्रेम प्रसाद कुर्मी, धीरेन्द्र पटेल, श्रिनन्दन प्रसाद यादव, छठु महतो, दसरथ महरा लगायतका समाजसेवी, बुद्धिजीवी, भद्रभलाद्मी तथा विभिन्न सञ्चारकर्मीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको व्यवस्थापन र संयोजनमा युवानेता धर्मेन्द्र पटेल सक्रिय रूपमा संलग्न रहेका थिए। उहाँले जानकारी दिँदै भन्नुभयो, “आज वडा नं–८ र ९ मा वितरण सम्पन्न भएको छ। भोलिदेखि बाँकी रहेका अन्य वडाहरूमा पनि क्रमशः साडी वितरण कार्यक्रम सञ्चालन गरिनेछ।”

कार्यक्रमको वातावरण अत्यन्त उत्साहपूर्ण र सांस्कृतिक रौनकले भरिएको थियो। व्रतालुहरूले नगर प्रमुख र आयोजक टोलीप्रति आभार प्रकट गर्दै यस्तो सामाजिक–धार्मिक सहयोगले स्थानीय तह र जनताको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे।

वृन्दावन नगरपालिकाले हरेक वर्ष जस्तै यस वर्ष पनि छठ पर्वका अवसरमा व्रतालुहरूको सहजता र सम्मानका लागि विभिन्न सहयोगी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। नगर प्रमुख कुर्मीले आगामी वर्षहरूमा अझ बढी व्रतालु र परिवारलाई समेट्ने गरी सहयोगका कार्यक्रम विस्तार गरिने प्रतिबद्धता समेत जनाउनुभयो।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*