आरएन पटेल,राैतहट,कार्तिक ०८ गते ।
रौतहटको गुजरा नगरपालिका-९ सिमराभवानीपुरमा नेकपा एमालेले शुभकामना अदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पार्टीका केन्द्र, प्रदेश र स्थानीय तहका नेताहरूको उपस्थिति रहेकाे थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहाले असोज २३ र २४ गते देशका विभिन्न स्थानमा भएका विध्वंसकारी गतिविधि कुनै नेपालीको नभई विदेशी शक्तिको इसारामा गराइएको हुनसक्ने टिप्पणी गरे । उनले भने, “संविधान संशोधन आवश्यक छ, तर देशलाई अस्थिर बनाउने कार्य स्वीकार्य छैन् । भ्रष्टाचारविरुद्ध कठोर कदम चालिनु पर्छ, सरकारले जेनजी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही गर्नुपर्छ।”
कुशवाहाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्वच्छ र इमानदार नेता भएको बताउँदै, “ओलीजीले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण आफैँबाट सुरु गर्न सक्ने आँट देखाउनुभएको छ, के अरू नेतामा त्यस्तो साहस छ ?” भन्दै एनजीओ र आईएनजीओहरूले देश चलाइरहेको भन्दै आलोचना गरे ।
त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथि तथा पूर्वराज्यमन्त्री नागेन्द्र यादवले सामाजिक सुरक्षा लगायतका जनमुखी कार्यक्रमको सुरुवात नेकपा एमालेले गरेको भन्दै एमाले नै जनताको हितका लागि समर्पित पार्टी भएको दाबी गरे । उनले भने, “एमालेबाहेक देशको विकास र स्थायित्वको कुनै विकल्प छैन् ।”
मधेस प्रदेशका पूर्वराज्यमन्त्री तथा प्रदेश सांसद केशव राय चौधरीले हाल देश विकराल अवस्थामा रहेको बताउँदै भने, “जेनजी आन्दोलनका नाममा केही विध्वंसकारी समूहले घुसपैठ गरेर व्यक्तिगत सम्पत्तिमा क्षति पुर्याए । यी तत्वहरूको पहिचान गरी कानुनी कारबाही हुनुपर्छ ।”
कार्यक्रममा अन्य स्थानीय नेता तथा कार्यकर्ताहरूले पनि एमालेबाहेक देशमा स्थायित्व र परिवर्तनको कुनै विकल्प नरहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा स्थानीय बासिन्दा, पार्टीका कार्यकर्ता र शुभेच्छुकहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।
Sthaniya News
