स्थानीय न्यूज
राैतहट,कार्तिक ०९ गते ।
हिन्दुहरूको महान पर्व छठको दोस्रो दिन ‘खरना’ विधिपूर्वक मनाईदैछ। तराई मधेश केन्द्रित सूर्य उपासना तथा आस्था, श्रद्धा एवं शुद्धताको प्रतीकको रूपमा मनाइने छठ पर्वको दोस्रो दिन आज आइतबार देशभर ‘खरना पूजा’ विधिपूर्वक मनाईदैछ। राैतहट लगायत तराई-मधेसको जिल्लामा छठ व्रतालु महिलाहरु घर-आँगनमा शुद्धता कायम राख्दै खरना पूजा सम्पन्न भइरहेको छ ।

खरना विधिअन्तर्गत छठ व्रतालु उपवासक महिलाहरु दिनभरि निर्जल उपवास बसेर बेलुका सूर्य अस्ताएपछि दूध, गुड र चामलबाट बन्ने परिकार खीर, रोटी (पुरी) लगायत प्रसाद चढ़ाएर पूजा गर्ने परम्परा रहेको छ । ततपश्चात प्रसाद ग्रहण गरेर चार दिनसम्म चल्ने छठ पर्वको मुख्य विधि प्रारम्भ हुने गर्दछ ।
राैतहटको गरुडा, कटहरिया,माैलापुर,फतुवा बिजयपुर,गढीमाइ, राजपुर, गौर, चन्द्रपुर, लगायतको ठाउँमा छठ घाटहरु, पोखरी र नदी किनार जलाशयहरुमा विशेष सरसफाइ तथा सजावट गरिएको छ । छठ पूजा हुने विभिन्न स्थानहरुमा स्थानीय युवा समूह एवं धार्मिक समितिहरु दीप, रंगोली, पण्डाल र प्रकाश सजावटको तयारी पूरा गरेको देखिन्छ ।
पर्वको तेस्रो दिन सोमबार बेलुका अस्ताउन लागेको सूर्यको अर्घ दिने तथा अन्तिम दिन मंगलबार बिहानै उदाउदै गरेको सुर्यको अर्घ अर्पण गरेर छठ पर्व समापन गर्ने गरिन्छ ।
सुरक्षा व्यवस्था सुदृढ गर्न स्थानीय प्रहरी प्रशासन परिचालनमा वृद्धि गरिएको छ । स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरु पनि घाट क्षेत्रमा तयारी अवस्थामा राखिएको छ।
राैतहटको विभिन्न धार्मिक स्थल, छठघाट स्थलमा घाट सजाउने विभिन्न सामग्री सहित भक्तजनहरूको भीड़भाड देखिरहेको अवस्था छ । जसले छठ पर्वको भक्तिपूर्ण र उत्साहमय माहोललाई अझ सौन्दर्यमय बनाएको दृश्य देखिन्छ ।
Sthaniya News
