आरएन पटेल, रौतहट, पौष १० गते।
रौतहटको बौधिमाई नगरपालिकामा लागू औषधविरुद्ध विशेष जनचेतनामूलक कार्यक्रम जेन्जी २.० र जिल्ला प्रहरीको संयुक्त अभियान सम्पन्न गरिएको छ।
नगरपालिकामा लागू औषध दुव्र्यसनविरुद्ध रोकथाम तथा नियन्त्रणका उपायहरूबारे जनचेतना फैलाउने उद्देश्यले विशेष कार्यक्रम तथा समुदाय-प्रहरी साझेदारीअन्तर्गत जेन्जी २.० का जिल्ला संयोजक सोनू कुशवाहाको पहलमा अभियान र अनुगमन कार्यक्रम सम्पन्न भएको हो।
नगर प्रमुख प्रदीप कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको उपस्थिति रहेको थियो। कार्यक्रममा लागू औषधले समाज विशेषगरी युवापुस्तामा पार्ने नकारात्मक प्रभाव, यसको कारण र रोकथामका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो।

यसै क्रममा रौतहटका प्रहरी उपरीक्षक (एसपी) र प्रमुख जिल्ला अधिकारी (सिडिओ) ले बौधिमाई नगरपालिका अन्तर्गत पर्ने बन्कुल बजार क्षेत्रमा संयुक्त अनुगमन समेत गरेका छन्। अनुगमनको उद्देश्य बजार क्षेत्रमा शान्ति-सुरक्षा, व्यापारिक गतिविधि तथा समग्र अवस्थाको अवलोकन गर्नु रहेको थियो। अनुगमनमा सुरक्षा निकाय, नगरपालिकाका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

स्थानीयवासीहरूले उच्च अधिकारीहरूको प्रत्यक्ष अनुगमनले बजार व्यवस्थापन र सुरक्षा अझ मजबुत हुने अपेक्षा व्यक्त गरेका छन।
साथै नगरपालिका भरिका कक्षा ८, ९ र १० मा अध्ययनरत सामुदायिक विद्यालयका विद्यार्थी तथा शिक्षक- प्रधानाध्यापकहरूको उपस्थितिमा वडा नं. ५ कोपवाको सामुदायिक भवन आयोजित जनचेतनामूलक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, गौर रौतहटको सहकार्य रहेको थियो। कार्यक्रममा प्रहरी अधिकारी, स्थानीय जनप्रतिनिधि, समाजसेवी, शिक्षक, विद्यार्थी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। वक्ताहरूले लागू औषध दुव्र्यसन समाजका लागि गम्भीर चुनौती बनेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि परिवार, समाज र राज्यको साझा भूमिका अपरिहार्य रहेको बताए।

जेन्जी २.० रौतहटको संयोजक कुशवाहाको पहलमा नेपाल प्रहरीको सहयोग तथा नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको उक्त विशेष जनचेतनामूलक अभियानमा स्थानीय तह, समुदाय, सामाजिक संस्था तथा विद्यालयहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा लागू औषधका कारण उत्पन्न हुने सामाजिक विकृति, युवामा देखिने समस्या तथा यसको न्यूनीकरणका उपायहरूबारे जानकारी दिइएको थियो। वक्ताहरूले प्रहरी, स्थानीय सरकार, विद्यालय र समुदायबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिए।

कार्यक्रममा एकदिने प्रशिक्षणका प्रवेक्षक प्रहरी नायव निरीक्षक तेजप्रताप सिंहले लागू औषधको परिभाषा, प्रकार (गाँजा, चरेस, अफिम, हेरोइन, ब्राउन सुगर, कोकिन, नशालु ट्याब्लेट तथा सिरप आदि), प्रयोगका कारण, शारीरिक, मानसिक तथा सामाजिक असर, कानुनी प्रावधान र बच्ने उपायहरूबारे जानकारी गराएका थिए। उनले लागू औषध सेवनले कलेजो, फोक्सो र मस्तिष्कमा गम्भीर असर पुर्याउने, अपराधतर्फ आकर्षण बढ्ने र कानुनअनुसार कडा सजायको व्यवस्था रहेको स्पष्ट पारे।
कार्यक्रममा सहभागी वक्ताहरूले लागू औषधबाट बच्न सही जानकारी, सकारात्मक संगत, खेलकुद तथा सिर्जनात्मक गतिविधिमा सहभागिता, अभिभावक र शिक्षकको निगरानी तथा आवश्यक परे परामर्श र उपचार लिनुपर्नेमा जोड दिएका थिए। साथै, शंकास्पद गतिविधि देखिए सम्बन्धित निकायलाई जानकारी गराई स्वस्थ र सुरक्षित समाज निर्माणमा सबैको भूमिका महत्वपूर्ण हुने बताएका थिए।
सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गौर रौतहटद्वारा विद्यार्थीहरुलाई लागुपदार्थ दुर्व्यसन सम्बन्धी प्रशिक्षण गरिएको थियो। कार्यक्रममा जेन्जी २.० का संयोजक सोनू कुशवाहा, प्रहरी उपरीक्षक रविन कार्की, सशस्त्र प्रहरी बल ११ नं. गणपति रामहरि अधिकारी, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख कुमार बूढाथोकी, नगर उपप्रमुख प्रमिला देवी जयसवाल, प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरी, विभिन्न वडा अध्यक्षहरू, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, शिक्षक-शिक्षिका तथा सयकड़ौ विद्यार्थीहरूको सहभागिता रहेको थियो।
Sthaniya News
