स्थानीय न्यूज, रौतहट, पौष १२ गते।
रौतहट जिल्लाको कटहरिया नगरपालिका-९ डुमरियामा अवस्थित ज्योति डिस्टिलरी प्रा.लि. मा शनिबार बिहान भएको बोइलर विस्फोटमा एक जना कामदारको मृत्यु भएको छ भने छ जना गम्भीर घाइते भएका छन्।
डिस्टिलरी परिसरमा रहेको बोइलर अचानक विस्फोट हुँदा कटहरिया नगरपालिका-८ बलुवा निवासी करिब ४५ वर्षीय लक्ष्मण राय यादवको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ। मृतक डिस्टिलरीमै कार्यरत कामदार रहेको प्रहरीले पुष्टि गरेको छ।

विस्फोटमा घाइते हुनेहरूमा कटहरिया-८ पिप्रा पोखरिया निवासी बिगन राय यादव, बलिराम राय यादव, रहमत आलम, प्रमजित राय यादव, कैलाश माली तथा गरुडा नगरपालिका-५ महम्मदपुर निवासी मुकेश राय यादव रहेका छन्। घाइतेमध्ये अधिकांशको हातखुट्टा जलेको र केहीको अवस्था गम्भीर रहेको बताइएको छ। गम्भीर घाइतेहरूलाई थप उपचारका लागि वीरगञ्ज पठाइएको छ।

घटनास्थलमा खटिनु भएका इलाका प्रहरी कार्यालय कटहरियाका वरिष्ठ नायब निरीक्षक (सई) धर्मेन्द्र पौडेलका अनुसार विस्फोट अत्यन्तै शक्तिशाली भएकाले डिस्टिलरीको संरचना र उपकरणमा ठूलो क्षति पुगेको छ। हाल घटनास्थललाई नियन्त्रणमा राखी मुचुल्का उठाउने तथा आवश्यक अनुसन्धान कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो। विस्फोटको वास्तविक कारणबारे भने अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ।
घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ। सुरक्षाकर्मीले थप क्षति नहोस भनी डिस्टिलरी क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएका छन।

Sthaniya News
