Breaking News
मौलापुरको श्री मावि गम्हरियाको जिर्ण भवन डाँक बढाबढ मार्फत बिक्री

मौलापुरको श्री मावि गम्हरियाको जिर्ण भवन डाँक बढाबढ मार्फत बिक्री

स्थानीय न्यूज,राैतहट, पौष ११ गते । 

रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर-३ गम्हरियामा रहेको श्री माध्यमिक विद्यालय गम्हरियाको विद्यालय प्राङ्गनभित्र अवस्थित जिर्ण अवस्थाका भवनका कोठाहरू डाँक बढाबढ प्रक्रियामार्फत बिक्री गरिएको छ ।

विद्यालय परिसरमा रहेका जस्ता पत्ताले छाएका ट्रस ब्लक संख्या ३ र टालीले छाएको १ कोठा गरी जम्मा ४ कोठाको डाँक बढाबढद्वारा ठेक्का प्रक्रिया सम्पन्न भएको हो । उक्त ब्लक बिक्रीका लागि विद्यालयले न्यूनतम ६ लाख ४५ हजार रुपैयाँबाट डाँक बढाबढ सुरु गरेको थियो ।

डाँक बढाबढ प्रक्रियामा ठेकेदार अनिलकुमार साह, हरिन्द्र राय यादव लगायत अन्य ठेकेदारहरूको सहभागिता रहेको थियो । प्रतिस्पर्धात्मक डाँक बढाबढमा सबैभन्दा बढी रकम ८ लाख २५ हजार कबोल गर्ने ठेकेदार अनिलकुमार साहलाई ठेक्का प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक चन्देश्वर साहले जानकारी गराएका हुन् । अर्का प्रतिस्पर्धी ठेकेदार हरिन्द्र राय यादवले ८ लाख २० हजार रुपैयाँसम्म मात्रै डाँक बढाउन सकेका थिए।

विद्यालयका प्रधानाध्यापक  साह, विद्यालयका लेखापाल, मौलापुर नगरपालिकाका शिक्षा सह–संयोजक धर्मेन्द्र कुमार साहको उपस्थितिमा ठेक्का प्रक्रिया पारदर्शी रूपमा सम्पन्न गरिएको जनाइएको छ । साथै कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, सुरक्षाकर्मी, पत्रकार, अभिभावक, जनप्रतिनिधि तथा शिक्षाप्रेमी भद्रभलादमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

यसअघि पुस ०६ गते तेस्रो पटक प्रकाशित सूचनाअनुसार आज पुस ११ गते शुक्रबारका दिन वडा नम्बर–३ का कार्यवाहक वडा अध्यक्ष पचिया देवीको अध्यक्षतामा डाँक बढाबढ कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वडा सदस्य राकेश बैठा, वडा प्रत्यासी राजकिशोर यादव, अभिभावक रामनरेश प्रसाद कुशवाहा तथा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष जरनइल राय यादव लगायतको उपस्थिति रहेको थियो ।

विद्यालय प्रशासनले जिर्ण संरचना हटाएर विद्यालयको भौतिक विकास र सुरक्षित शैक्षिक वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*