आरएन पटेल, रौतहट, पौष १८ गते।
मध्य रौतहटको गरुडा नगरपालिकाले आफ्नो १४ औँ नगर सभा अधिवेशन सम्पन्न गरेको छ। नगर सभा अध्यक्ष कन्थमनी प्रसाद कलवारको अध्यक्षतामा नगरपालिकाको सभाहलमा सफलतापूर्वक १४ औँ नगर सभा अधिवेशन सम्पन्न भएको छ।

अधिवेशनमा गरुडा नगरपालिकाको आगामी नीति तथा कार्यक्रम, विकास योजना, बजेट कार्यान्वयनको अवस्था तथा समसामयिक विषयहरूमा व्यापक छलफल गरिएको थियो। नगरपालिकाको समग्र विकास, सेवा प्रवाहको प्रभावकारिता अभिवृद्धि तथा जनअपेक्षा अनुसारको योजनालाई प्राथमिकतामा राख्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
कार्यक्रममा वक्ताहरूले गरुडा नगरपालिकाको दिगो विकासका लागि सबै सरोकारवाला निकायबीच सहकार्य, पारदर्शिता र उत्तरदायित्व आवश्यक रहेकोमा जोड दिएका थिए। नगर सभाले जनमुखी योजना तथा कार्यक्रममार्फत नगरपालिकालाई समृद्धिको दिशामा लैजाने विश्वास व्यक्त गर्दै अधिवेशन सम्पन्न भएको छ।

अधिवेशनका प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष रामअयोध्या राय यादव रहनु भएको थियो। कार्यक्रममा नगर उप प्रमुख पुनम कुमारी चौधरी, विभिन्न वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, नगर सभा सचिव तथा प्रमुख प्रशासकीय अधिकृत नीलमकुमार न्यौपाने तथा नगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
Sthaniya News
