स्थानीय न्यूज, रौतहट, पौष २१ गते ।
दक्षिण एसियाका बहुभाषिक समाजमा लोप हुँदै गएका भाषा र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिकाबारे छलफल गर्दै भारतको नालन्दा खुल्ला विश्वविद्यालयमा अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबार सम्पन्न भएकाे छ ।

सार्क जर्नलिस्ट फोरम ईन्टरनेशनको भारतस्थित विहार च्याप्टरको सहकार्यमा आम्रपाली कला- साहित्य सम्मेलन तथा मानवअधिकार टुडेले सो सम्मेलन आयोजना गरेको हो।
सम्मेलन दुईदिनसम्म चलेको थियो। पत्रकारिता केवल सूचना प्रवाहको माध्यमसंगै मातृभाषा संरक्षणको सशक्त औजार बन्न सक्ने सम्मेलनले निष्कर्ष निकालेको सम्मेलनमा नेपालका तर्फबाट सहभागी नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले बताउनुभयो।सो सम्मेलनमा पत्रकारिता मातृभाषा जोगाउन दक्षिण एसियाका पत्रकारहरुबीच आपसी ज्ञान, सीप र अनुभव आदानप्रदानलाई केन्द्रबिन्दुमा राखिएको पनि अध्यक्ष श्रेष्ठले बताउनुभयो।

मातृभाषा लोपोन्मुख बन्दै गएको वर्तमान सन्दर्भमा पत्रकारिताले भाषा- संस्कृति जोगाउन महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएको सम्मेलनमा सहभागी अर्का पत्रकार राजु नापितले भन्नुभयो। बहुभाषा, बहुसंस्कृति भएको दक्षिण एसियाका पत्रकारहरुले पत्रकारिता मार्फत लोप हुँदै गएको, लोप हुने क्रममा रहेको र लोपोन्मुख भाषा, संस्कृति कसरी जोगाउन सकिन्छ भन्ने विषयमा गहन छलफल भएको थियो ।’ पत्रकार राष्ट्रिय दबूका केन्द्रीय सचिव समेत रहेका नापितले भन्नुभयो।
नेपाली पत्रकारहरुको टोलीसंगै नेवाः पत्रकार राष्ट्रिय दबूले मातृभाषा पत्रकारिता सम्मेलनमा सहभागी भएको यो दोस्रो पटक हो । सार्क जर्नलिस्ट फोरम बिहारका अध्यक्ष तथा मानवअधिकार टुडेका सम्पादक शशिभूषण कुमारको अध्यक्षतामा भएको सम्मेलनका प्रमुख अतिथि पूर्व सिक्किम राज्यपाल गंगाप्रसाद रहनुभएको थियो।सम्मेलनमा मौरिससका पूर्व उपप्रधानमन्त्री हरिश बुद्धुकी धर्मपत्नी तथा अन्तर्राष्ट्रिय संस्कृति संवाहिका डा.सरिता बुद्धु , नेपालबाट सार्क जर्नलिस्ट फोरमका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा, तथा थाइल्याण्डका प्रतिनिधि डा.पी. सी. चन्द्रा लगायत विदेशबाट करिब तीन दर्जन व्यक्तिहरुको सहभागीता रहेको थियो।

बिहारमा भएको चौथो अन्तर्राष्ट्रिय सम्मेलन रहेको सार्क जर्नलिस्ट फोरम बिहारका अध्यक्ष तथा मानवअधिकार टुडेका सम्पादक शशि भूषण कुमारले बताउनुभयो।सो सम्मेलनमा नेपालका तर्फबाट सहभागी हुने पत्रकारहरुलाई अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता अवार्ड प्रदान गरिएको थियो।
अवार्ड पाउने पत्रकारहरुमा नृपेन्द्रलाल श्रेष्ठ, राजु नापित, चन्दन कुमार महतो, राज नारायण पटेल, सदाब मलिक, दिपेन्द्र प्रजापति,अभिलाष गुप्ता,शैलेश गुप्ता,राजन कुमार सिंह र सुभास राम रहनुभएको छ । सम्मेलनपछि नालन्दा विश्वविद्यालयका ऐतिहासिक भग्नावशेषहरूको अवलोकन तथा भ्रमण गराइएको थियो।यस क्रममा नालन्दाको ऐतिहासिक महत्व, शैक्षिक परम्परा र प्राचीन वैभवबारे जानकारी गराइएको थियो।

Sthaniya News
