Breaking News
स्वास्थ्यका कारण रोकिएको यात्राः अब जिम्मेवारीका साथ फर्किएको गोविन्द चौधरी

स्वास्थ्यका कारण रोकिएको यात्राः अब जिम्मेवारीका साथ फर्किएको गोविन्द चौधरी

आरएन पटेल,राैतहट,माघ २५ गते ।
आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै रौतहट क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गोविन्द चौधरी (छाता छाप) ले गुजरा नगरपालिकाको वडा नम्बर २ चोचामा मतदातासँग भेटघाट गरेका छन ।
सो अवसरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार चौधरीले आफ्नो उम्मेदवारीको विषयमा उठाइएका प्रश्नहरूको स्पष्ट जवाफ दिएका छन् । उनले भने, “सबैलाई जिज्ञासा छ-गोविन्द चौधरी जीवनको उत्तरार्धमा किन चुनावमा आएका हुन् ? जेन-जीको समयमा किन युवालाई मौका दिएनन् भनेर विपक्षीहरूले प्रश्न उठाइरहेका छन् । तर म स्पष्ट भन्न चाहन्छु, म युवाहरूकै जोडबलमा चुनावी मैदानमा आएको हुँ । युवाहरूले नै मलाई अघि बढ्न प्रेरित गरेका हुन।”


उनले विगतका दुई निर्वाचनमा स्वास्थ्यका कारण सक्रिय भूमिका खेल्न नसकेको स्वीकार गर्दै भने, “मैले अघिल्ला दुई चुनावमा स्वास्थ्यका कारण लड्न सकिन । यो मेरो कमजोरी थियो । तर अहिले म जिम्मेवारीका साथ फर्किएको छु ।”
आफ्नो राजनीतिक इतिहास स्मरण गर्दै चौधरीले २०४८ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका विद्रोही उम्मेदवारका रूपमा विजयी भएको उल्लेख गरे । उनले भने, “त्यो कार्यकाल केवल ढाई वर्षको मात्र रह्यो । त्यतिबेला राज्यसँग पर्याप्त बजेट थिएन, तर पनि मैले आफ्नै पहलमा बाटोघाटो निर्माणजस्ता विकासका कामहरू अघि बढाएँ ।”
चौधरीले अनुभव, इमानदारी र युवाको साथ मिलेर रौतहट–३ मा परिवर्तन सम्भव हुने विश्वास व्यक्त गर्दै मतदातालाई छाता छापमा मतदान गर्न आग्रह गरे ।
कार्यक्रममा स्थानीय युवा, अगुवा कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*