गौर, माघ २५ गते।
गौरको सबैभन्दा प्रतिक्षित क्रिकेट प्रतियोगिता ‘जीपिएल (गौरीशंकर यादव प्रिमियर लिग) को तेस्रो संस्करण फागुन १ गतेदेखि सुरु हुने भएको छ ।
गौरका ९ वटा टिमको सहभागिता रहने यो प्रतियोगिता क्रिकेटप्रेमीहरूका लागि विशेष आकर्षणको केन्द्र बन्दै आएको छ । गौरी शंकर यादव फाउन्डेसनको आयोजनामा हुन लागेको प्रतियोगिताको सबै खेल गौरस्थित राइस मिल खेल मैदानमा सञ्चालन हुनेछ ।
यसअघिका दुई संस्करण निकै नै भव्यताका साथ सफलतापूर्वक सम्पन्न भइसकेकाले यस पटकको जीपिएल लाई अझ व्यवस्थित र प्रतिस्पर्धात्मक बनाइने आयोजकले जनाएको छ ।
प्रतियोगिताले गौरमा क्रिकेटको विकाससँगै युवाहरूलाई खेलतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने गरेको गौरीशंकर यादव फाउण्डेशनका अध्यक्ष मोहन यादवले बताए । स्थानीय खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने राम्रो अवसर प्रदान गर्नु नै प्रतियोगिताको मुख्य उद्देश्य रहेको अध्यक्ष यादवले बताए ।
रौतहट जिल्ला क्रिकेट संघको सहकार्यमा आयोजना हुने प्रतियोगिताका लागी गौर सहित जिल्लाका खेलाडीहरुमा उत्साह देखिएको छ । जीपिएलको तेस्रो संस्करणमा गौरका विभिन्न टोल तथा क्षेत्रको प्रतिनिधित्व गर्ने ९ टिमबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका खेलहरू हेर्न स्थानीय दर्शकहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ ।
खेलप्रेमीहरूका लागि उत्साह र मनोरञ्जनले भरिपूर्ण रहने यस प्रतियोगिताको सफल आयोजनाका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष मोहन यादवले बताए ।
Sthaniya News
