रौतहट, माघ २९ गते ।
रौतहट प्रहरीले नक्कली नेपाली नोट प्रयोग गरेको आरोपमा दुई जना युवकलाई पक्राउ गरेको छ। वृन्दावन नगरपालिका-२ विश्रामपुरस्थित एक किराना पसलमा नक्कली नोट प्रयोग गरी पेट्रोल खरिद गर्न खोजेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी बिष्णु प्रदिप बस्यालका अनुसार पक्राउ पर्नेहरूमा वृन्दावन नगरपालिका-२ विश्रामपुरका २९ वर्षीय दिनेश पटेल र सर्लाहीको बरहथवा नगरपालिका-१ का २० वर्षीय विवेकप्रसाद यादव रहेका छन।
बुधबार दिउँसो करिब ३ बजेको समयमा विश्रामपुर बजारस्थित विशाल किराना पसलमा पेट्रोल किन्न जाँदा उनीहरूले एक हजार दरका नक्कली नोट दिएका थिए। पसलेलाई नोट शंकास्पद लागेपछि उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरिएको थियो।
सूचना प्राप्त हुनासाथ प्रहरी चौकी विश्रामपुरबाट खटिएको टोलीले दुवै जनालाई पक्राउ गरेको हो। डिएसपी बस्यालका अनुसार बिआर ३० एआर ७७५५ नम्बरको मोटरसाइकलमा आएका दिनेश पटेलको शरीर खानतलासी गर्दा एक हजार दरका १२ थान नक्कली नोट फेला परेको थियो। त्यस्तै विवेकप्रसाद यादवले मोबाइल कभरभित्र लुकाएर राखेको २ थान नक्कली नोट बरामद गरिएको छ। यसरी कुल १४ थान एक हजार दरका नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ।
बरामद नक्कली नोट तथा मोटरसाइकलसहित दुवै जनालाई प्रहरी हिरासतमा राखी आवश्यक अनुसन्धान अगाडि बढाइएको डिएसपी बस्यालले जानकारी दिएका छन।

Sthaniya News
