स्थानियन्यूज,रौतहट,वैशाख ०९ गते।
गौर नगरपालिकामा रहेका सामुदायिक तथा निजी विद्यालयका शिक्षक–शिक्षिकाहरूलाई लक्षित गर्दै “आँखा स्वास्थ्य सम्बन्धी जनचेतनामूलक तथा व्यवहारिक” तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। “स्वस्थ आँखा, उज्यालो भविष्य” भन्ने सन्देशका साथ आयोजित कार्यक्रममा आँखा सेवामा सबैको साझा जिम्मेवारी आवश्यक रहेकोमा जोड दिइएको थियो।

सेवा फाउन्डेशनको सहयोगमा नेपाल नेत्र ज्योति संघ अन्तर्गत गौर आँखा अस्पतालको आँखा स्वास्थ्य कार्यक्रमद्वारा जुद्ध माध्यमिक विद्यालयमा उक्त तालिम आयोजना गरिएको हो। कार्यक्रममा जुद्ध मावि, श्री मावि, बाल निकेतन स्कुल तथा गौर मोडेल स्कुलका शिक्षक–शिक्षिकाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
तालिममा मोतिबिन्दु, जलविन्दु, टेढो आँखा, दृष्टिदोष, दृष्टि परीक्षण गर्ने विधि, आँखामा चोटपटक लाग्दा अपनाउनुपर्ने प्राथमिक उपचार, औषधिको सुरक्षित प्रयोग तथा उपचारमा ढिलाइ हुँदा पर्ने असरबारे विस्तृत जानकारी दिइयो। साथै मोबाइल, कम्प्युटरलगायत डिजिटल उपकरणको अत्यधिक प्रयोगले आँखामा पार्ने असर, गर्मी मौसममा देखिने आँखा समस्या, बालबालिकाको दृष्टि कमजोरी समयमै पहिचान गर्ने उपाय तथा विद्यालयस्तरमै जनचेतना फैलाउने व्यवहारिक अभ्यासबारे पनि प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रमका संयोजक एवं प्रशिक्षकहरू सत्येन्द्र पाण्डे र शिवकुमार यादवले सहभागीहरूलाई व्यवहारिक ज्ञान प्रदान गरेका थिए। कार्यक्रममा ४३ जना शिक्षक–शिक्षिकाको सहभागिता रहेको थियो।

सहभागी शिक्षकहरूले यस्ता तालिमले विद्यार्थीहरूको समयमै आँखा परीक्षण, अभिभावकमा सचेतना अभिवृद्धि तथा भविष्यमा हुन सक्ने आँखा रोगको प्रारम्भिक पहिचानमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
Sthaniya News
