स्थानियान्यूज,रौतहट, वैशाख ०९ गते।
रौतहटको बौधीमाई नगरपालिकामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (GESI) नीति, २०८१ कार्यान्वयनलाई प्रभावकारी बनाउन पाँच वर्षे विस्तृत कार्ययोजनाको पुनरावलोकन तथा लै.स.स समिति बैठक सम्पन्न भएको छ।

संयुक्त राष्ट्र जनसंख्या कोष (UNFPA) को आर्थिक सहयोगमा आसमान नेपालद्वारा सञ्चालित “सशक्त महिला, समृद्ध नेपाल” कार्यक्रम अन्तर्गत नगरपालिकासँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमको अध्यक्षता नगर उपप्रमुख प्रमिला देवीले गर्नुभएको थियो भने नगरप्रमुख प्रदीप कुमार यादव प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो। आफ्नो मन्तव्यमा नगरप्रमुख यादवले भौतिक पूर्वाधारसँगै सामाजिक विकासलाई समान प्राथमिकता दिनुपर्नेमा जोड दिँदै आगामी आर्थिक वर्षमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको सहजीकरण जेसी सम्पर्क व्यक्ति तार्केश्वर प्रसादले गर्नुभएको थियो। बैठकले आगामी आर्थिक वर्षका लागि बजेट व्यवस्थापन गर्ने योजना बनाउने तथा लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि निर्माण गर्ने महत्वपूर्ण निर्णयहरू पारित गरेको छ।

यसैबीच, GESI नीति कार्यान्वयन अन्तर्गत हालसम्म भएका प्रगति विवरण पनि सार्वजनिक गरिएको छ। जसअनुसार गर्भवती महिलालाई निःशुल्क औषधि तथा सरसफाइ किट वितरण, आमा तथा नवजात शिशुको पोषणसम्बन्धी जनचेतना कार्यक्रम, विद्यालयस्तरीय सचेतनामूलक गतिविधि, बालविवाह तथा महिला हिंसा न्यूनीकरण अभियान तथा महिला सशक्तीकरण तालिमहरू सञ्चालन गरिएको जानकारी दिइयो।
यस्तै, लैङ्गिक मैत्री वातावरण निर्माण, क्षमता विकास तथा संस्थागत सुदृढीकरणका लागि समेत बजेट विनियोजन गरी कार्यक्रमहरू कार्यान्वयन भइरहेको बताइएको छ। आगामी दिनमा अझ प्रभावकारी रूपमा कार्यक्रम अघि बढाइने प्रतिबद्धता व्यक्त गरिएको छ।

कार्यक्रमसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त परिपत्रबारे अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गरिएको थियो। जसमा GESI परीक्षण, बजेट विनियोजन, कार्यक्रम कार्यान्वयन तथा अनुगमन सम्बन्धी प्रावधानबारे विस्तृत जानकारी गराइएको थियो।
कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा कर्मचारीहरूले महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति तथा पछाडि पारिएका समुदायलाई लक्षित गरी योजना निर्माण गर्दा GESI मैत्री दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा लेखा प्रमुख रमेश यादव, योजना प्रमुख उमेश झा, वडा अध्यक्षहरू मुक्ति नारायण मिश्र, तुरन्त नारायण यादव, लक्ष्मी नारायण यादव लगायत कार्यपालिका सदस्य आशा कुमारी बैठा सहित सरोकारवाला निकायको उपस्थिति रहेको थियो।
Sthaniya News
