Breaking News
“स्वस्थ आँखा, उज्यालो भविष्य” अभियान: बौधीमाईमा शिक्षकलाई विशेष तालिम, ४१ जना सहभागी

“स्वस्थ आँखा, उज्यालो भविष्य” अभियान: बौधीमाईमा शिक्षकलाई विशेष तालिम, ४१ जना सहभागी

आरएन पटेल,रौतहट, बैशाख १० गते।
रौतहटको बौधीमाई नगरपालिकामा सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरूका लागि आँखा स्वास्थ्यसम्बन्धी विशेष तालिम सफलता पूर्वक सम्पन्न भएको छ। विद्यालयस्तरमै आँखा स्वास्थ्य प्रति जनचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा ४१ जना शिक्षक–शिक्षिकाको सक्रिय सहभागिता रहेको थियो।


नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा नेपाल नेत्र ज्योति संघ अन्तर्गत गौर आँखा अस्पतालको स्वास्थ्य आँखा एकाइद्वारा बौधीमाई–७ स्थित सभा हलमा तालिम सञ्चालन गरिएको हो।
तालिमका क्रममा मोतिबिन्दु, जलविन्दु, डेढो आँखा, दृष्टिदोषजस्ता सामान्य आँखा रोगका लक्षण र रोकथामका उपायबारे विस्तृत जानकारी दिइयो। साथै दृष्टि परीक्षण गर्ने विधि, आँखामा चोटपटक लाग्दा अपनाउनुपर्ने प्राथमिक उपचार, औषधि सुरक्षित प्रयोग गर्ने तरिका तथा उपचारमा ढिलाइ हुँदा हुने जोखिमबारे व्यवहारिक अभ्याससमेत गराइएको थियो।


त्यसैगरी, मोबाइल, कम्प्युटर लगायत डिजिटल उपकरणको अत्यधिक प्रयोगले आँखामा पार्ने असर, गर्मी मौसममा देखिने आँखा समस्या, तथा बालबालिकामा दृष्टि कमजोरी समयमै पहिचान गर्ने उपायबारे पनि प्रशिक्षण दिइएको थियो।
सहभागी शिक्षकहरूले यस्तो तालिमले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको समयमै आँखा परीक्षण, अभिभावकमा सचेतना अभिवृद्धि तथा भविष्यमा हुन सक्ने आँखा रोगको प्रारम्भिक पहिचानमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रममा प्रशिक्षकका रूपमा बिनिता केशरी, सत्येन्द्र पाण्डेय र अफताब आलम, सहभागी रहेका थिए।
कार्यक्रममा नगर प्रमुख प्रदीप कुमार यादव तथा शिक्षक संयोजक राजेश कुमार यादवले समेत उपस्थिति जनाउँदै तालिम प्रभावकारी र उपलब्धिमूलक रहेको बताएका हुन।
नगर प्रमुख यादवले नगरभित्रका सबै विद्यालयमा नियमित आँखा जाँच कार्यक्रम सञ्चालन गर्ने योजना अघि बढाइएको जानकारी दिँदै नयाँ भर्ना हुने विद्यार्थीका लागि अनिवार्य आँखा परीक्षण प्रमाणपत्र लागू गर्ने विषयमा छलफल भइरहेको बताए। उनले बौधीमाईलाई आँखा स्वास्थ्य सेवामा नमुना नगरपालिका बनाउने लक्ष्यसहित आगामी दिनमा थप कार्यक्रम सञ्चालन गरिने पनि स्पष्ट पारे।


“स्वस्थ आँखा, उज्यालो भविष्य” भन्ने मूल सन्देशसहित आयोजना गरिएको यो कार्यक्रमले समुदायमा आँखा स्वास्थ्यप्रति जिम्मेवारी बोध र साझेदारी अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*