चन्दन पटेल । गरुडा । फागुन २४ गते
मार्च ८ अर्थात १११औं अन्तर्राष्ट्रिय महिला दिवस रौतहटको गरुडामा कार्यक्रमको आयोजना गरी मनाइएको छ । यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ रौतहटमा पनि महिला दिवस भव्यताका साथ सम्पन्न भएको छ । दिवसको अन्तर्राष्ट्रिय नारा भने ‘चुनौती दिने रोजाइ लेउ’ भन्ने तय गरिएको छ ।
अन्तर्राष्ट्रिय महिला दिवस भनिए पनि यसलाई श्रमिक महिला दिवसका रुपमा मनाउनु पर्ने तर्क गरिन्छ । क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर दिवस मनाउने प्रचलन रहेकोले पनि यसलाई श्रमिक महिला दिवसका रुपमा लिनु पर्ने तर्क अभियन्ताहरुको छ ।
सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भएकि थिइन् । गरुडा नगरपालिकाका नगर प्रमुख श्री इन्नु राय यादव ज्यूको प्रमुख अतिथ्यता तथा नगर उपप्रमुख श्रीमती रंगीला कुमारी जयसवाल ज्यूको अध्यक्षतामा गरुडा स्थित मेथुर चौधरी सामुदायिक धर्मशालामा “Women in leadership: Achieving an equal future in a COVID-19 world” तथा “महिलाको सुरक्षा, सम्मान र रोजगार: समृद्ध नेपालको आधार” भन्ने नाराका साथ रैली सहित नगर परिक्रमा तथा एकल महिलाहरुलाई दोसल्ला ओढाई सम्मान गर्दै १११ औं अन्तर्राष्ट्रिय महिला दिवस भव्यताका साथ सम्पन्न गरियो ।
सो कार्यक्रम गरुडा नगरपालिकाका कार्यपालिका सदस्य, वडा सदस्य, ईलाका प्रहरी कार्यालय गरुडाका प्रतिनिधि, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र गरुडाका प्रतिनिधि तथा अस्थायी ट्राफिक प्रहरी पोष्ट गरुडाका प्रतिनिधि, RDC Nepal का प्रतिनिधि, महिला सुरक्षा दवाब समूहका जिल्ला सचिव, महिला सशक्तिकरण केन्द्रका अध्यक्ष, नेपाल महिला रौतहट क्षेत्र नं. ४ का क्षेत्रिय सदस्य, संस्थाका प्रतिनिधि लगायत शिक्षक, बिद्यार्थी, राजनीतिकर्मी, पत्रकार, सुरक्षाकर्मीको उपस्थितिमा सम्पन्न भएको छ ।