आरएन पटेल । रौतहट, भदौ १४ गते ।
रौतहटको गरुडा नपा–३ मा आज बिहान चट्याङ लागेर तीन जना महिलाको मृत्यु भएको छ । जिल्लाको मध्यभाग गरूडा नगरपालिका–३ मलाही टोल खेतमा काम गर्ने क्रममा बिहान ८ बजे भएको वर्षामा चट्याङ लागेर तीन जनाको मृत्यु भएको हो ।


चट्याङ लागेर मृत्यु हुनेहरूमा गरूडा नगरपालिका–३ मलाही टोल गाउँँकै राम नारायण सहनीको श्रीमती अन्दाजी ३९ वर्षीय सुदमीया देवी, राम नारायण सहनीकै छोरी अन्दाजी १७ वर्षीय जगिया कुमारी र सत्य नारायण सहनीको छोरी अन्दाजी १८ वर्षीय मनिषा कुमारी रहेको इलाका प्रहरी कार्यालय गरूडाका प्रमुख डीएसपी बरूण सिंहले जानकारी दिए ।

चट्याङ लागेर एउटै गाउँँको एकैपटक तीनजनाको मृत्यु हुँदा सिंगो मलाही टोल गाउँँ शोकमग्न भएको छ । खेतमा कामगर्ने क्रममा चट्याङ लाग्दा सँगै रहेकी वर्ष ४० कि सैलीदेवी सामान्य घाइते तथा एक दर्जन भन्दा बढी महिला चट्याङबाट प्रभावित भएको प्रहरीले जनाएको छ ।

यसैबीच गरूडा नगरपालिकाका नगर उप प्रमुख पुनम चौधरी घटनास्थल पुगेर पीडित परिवारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको नगरपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत रामबाबु यादवले बताए । मृतक तिनै जनालाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको छ ।

Sthaniya News
