आरएन पटेल ।
रौतहट, मंसिर ४ गते ।
रौतहटको बौधिमाई नगरपालिका वड़ा नं.२ इनर्वामा आगलागी हुँदा लाखौको क्षति भएको छ । इनर्वा मठ टोलमा रहेको सिताबी पटेलको गोठ घरमा लामखुट्टे धपाउन बालेको आगोबाट आगलागी भई गोठघर पूर्ण रुपमा जलेर नष्ट हुनुका साथै एक चौपाया सहित पटेलको श्रीमति जलेर गम्भीर घाइते भएकी छिन ।

सोमबार राति करिब साढ़े ११ बजेको समयमा भएको आगलागीबाट एकैसाथ दुई परिवारका गोठघर जलेर नष्ट भएको छ । स्थानीय सिताबी पटेलको घरमा लागेको आगोबाट छिमेकी नागेन्द्र पटेलको गोठघर समेत पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीमा दुईटै परिवारका गोठ घरमा राखिएका लाखौ मूल्य बराबरको कृषि सामग्री, मोटर तार, पाइप, पंखा, लता-कपडा, साइकल, अन्नबाली, खानेकुरा,बीउबिजन, कृषिमल, किटनाशक औषधी लगायत ओछयान र घरमा राखिएको काठ समेत पूर्ण रुपमा जलेर नष्ट भएको छ । परिवारका सम्पूर्ण सदस्यहरु सुतिरहेको बेला आगो लागि बिकराल रूप लिएपछि थाहा पाएको पीड़ित परिवारले बताए ।

आगलागी बाट स्थानीय सिताबी पटेलको गोठघर राखिएको काठको तयारी अवस्थामा रहेको झ्याल, चौकठहरु गरि समूर्ण सामग्री जल्नुको साथै एक भैंसी समेत गरेर लाखौ लाख बराबरको धनमाल जलेर पूर्णरूपमा क्षति भएको पीड़ित परिवारले बताएको हो । सँगै अर्का छिमेकी नागेन्द्र पटेलको घरमा आगो सलकिदा अन्नपानी,लताकपडा, कृषि सामग्री र घरमा राखिएको काठहरु समेत घर पूर्णरूपमा जल्दा लाखौको धनमाल क्षति भएको अनुमान गरिएको छ ।
स्थानीय गाऊँबासीको सहयोग तथा इलाका प्रहरी कार्यालय कोपवा पिपरियाको सहयोगमा आगोलाई नियन्त्रणमा लिएको थियो । आगलागीलाई पूर्णरूपमा विराम दिन नगरपालिकाको पानी टंकी सानो दमकलको सहयोगबाट आगोलाई पूर्ण रुपमा नियन्त्रण गरिएको वडा अध्यक्ष धर्मेन्द्र प्रसाद पटेलले बताएका छन ।
पीड़ित सिताबी पटेलको श्रीमतिलाई बिरगंज पठाइएको तथा बीरगंज उपचार हुन नसकेकाले थप उपचारको लागि काठमाण्डौ रिफर गरिएको पिड़ित परिवारजनले बताएका छन ।

Sthaniya News
